काठमाडौं । ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू)को उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् ।
सुब्बाको ६ असोजमा मेडिसिटी अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेको एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
डिस्चार्ज भएको केही दिनपछि सरोजको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हप्ता–हप्ता दिनमा फलोअप उपचार गराउँदै आएका सरोजको १ मंसिरमा मृत्यु भएको थियो । तर आफन्तले भने चिकित्सकले परिवारसँग परामर्श नै नगरी सरोजको शरीरबाट मिर्गौला झिकेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
मृतकका आफन्त कुमार राईले सरोजको फलोअप उपचारका क्रममा चिकित्सकले आफूहरुलाई जानकारी नै नदिई शरीरबाट मिर्गौला झिकेको बताए ।