काठमाडौं । आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
यो वर्ष भविष्यलाई सुनौँ, बालबालिकाको अधिकारका लागि जागौँ भन्ने नाराका साथ विश्वभरि दिवस मनाउन लागिएको हो ।
विश्वभरका बालबालिकाको अधिकारको सुनिश्चितता होस् भन्ने उद्देश्यले मनाइने यो दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन् ।
नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि १९८९ अनुमोदन गरेको ३४ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते महासन्धिलाई विना शर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो । नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मनाउँदै आएको छ ।