२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रिय कर दिवस : नेपाल टेलिकम सबैभन्दा बढी कर तिर्ने कम्पनी

१ मंसिर, काठमाण्डौँ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले शनिबार आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ ।

वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नबिल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ ।

स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड र वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ ।

गत आर्थिक वर्षमा ५० करोडदेखि एक अर्बसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । ऊर्जामुलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् । २०७५ साउनदेखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रूपमा होङ्सी शिवम् सिमेन्टलाई सरकारले सम्मान गरेको छ ।

वार्षिक ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राइजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेबापत बरुण बेभरेजलाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरू पनि सम्मानित भएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस