२९ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका नेताहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सहकारीको रकम अपचलन आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । रविलाई पोखरामा बयान गराएर मंगलबार रुपन्देही ल्याइएको थियो । रविमाथि सरकारले गरिरहेको क्रियाकलापलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको झाले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले समय दिए लगत्तै रास्वपा सांसदहरुले भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ । रास्वपाले सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गरिरहेको छ । रास्वपाको यो कदमप्रति प्रधानमन्त्री असन्तुष्टि व्यक्त गरेका छन् ।