२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो, खुल्यो दोष प्रमाणित हुने तथ्य

Rabi Lamichhane

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपेन्देही पुर्‍याइएका रवि लामिछानेको बयान सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले लामिछानेको बयान सकिएको बताइन् ।

‘बयान सकिएको छ । अब रुजु गरेर हस्ताक्षर गरेपछि हाम्रोतर्फको काम सकिन्छ’ केसीले भनिन् । बयान आज सकिए पनि पोखरा फिर्ता गर्ने वा नगर्ने भन्नेबारे आफू भने जानकार नभएको उनले बताइन् । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरेले बयान सकिए पछि जतिसक्दो चाँडो लामिछानेलाई पोखरा फिर्ता तयारी रहेको बताएका छन् । सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति सुद्धिकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गितेन्द्रबाबु (जीबी) राई जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दा लामिछाने गृहमन्त्री रहेकै बेला ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ । तर त्यतिबेला रवि भने प्रतिवादी थिएनन् ।

संसदीय विशेष छानबिन समितिले सुप्रिम सहकारीको रकम समेत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको भन्दै रविसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै ३१ भदौमा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनपछि सुप्रिम सहकारीमा पनि पूरक अभियोजन बनाएर मुद्दा लैजाने तयारी रुपन्देही प्रहरीको छ । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको थियो । उक्त रकममध्ये करिब २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको भेटिएको थियो ।

गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो । टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (९१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो ।

जीबी र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको थियो । जसमध्ये २ करोड रुपैयाँ त रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर लगेको भेटिएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको थियो । यो पैसा आफ्नो खातामा आएर र आफूले खर्च गरेकोपनि रविले आजको बयानमा खुलाएका छन् । तर कसले र किन पठाएको भन्ने आफूलाई थाहा नभएको बताएका छन् । आजसम्म इन्कारी बयान दिइरहेका रविले यही बयान भने प्रमाण पुग्नेगरी दिएको अधिकारीको दाबी छ । सहकारीको रकम अपचलनमा प्रत्यक्ष रुपमा लामिछाने नजोडिए पनि अपचलन भएर आएको रकम खर्च गर्ने काममा भने लामिछानेको समेत संलग्नता देखिएको संसदीय समितिले औंल्याएको थियो ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस