२०८१ मङ्सिर ७ गते शुक्रवार | 2024 November 22nd Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नारायणगढ–बुटवल सडक निर्माणमा ढिलाइ : ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक-खण्डको निर्माणमा भएको ढिलाइका विषयमा ठेक्का तोड्ने चेतावनी दिनुभएको छ। बालुवाटारमा आज आयोजित छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले सडक निर्माण अपेक्षा र तीव्रताका साथ हुन नसकेको स्विकार गर्नुभयो । सो क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको पनि उहाँले जानकारी गराउनुभयो । सडक निर्माणमा बिलम्ब हुँदा आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ ।

नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो। चाइना स्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो। हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको बताइएको छ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत छलफलमा सहभागी हुनुहुन्थ्यो। भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटक-पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराउनुभयो।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस