काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकपमा स्थान बनाएका नेपाली महिला क्रिकेट टोलीका खेलाडीले जनही दुई लाख ५० हजार पाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एसिया छनोट च्याम्पियन टिम र अफिसियललाई पुरस्कृत गर्ने घोषणा गरेको हो। क्यानका अनुसार खेलाडीले २ लाख ५० हजार तथा अफिसियलले एक लाख ५० हजार पाउनेछन्।
नेपालले बुधबार युएईलाई ८ विकेटले हराउँदै नेट रनरेटका आधारमा शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान बनाएको थियो। दोस्रो संस्करणको विश्वकपको लागि नेपाल पहिलोपटक छनोट भएको हो। नेपालले विश्वकपमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ। त्यसअघि मलेसियामै यू–१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने तालिका छ।