काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएसँगै विश्वका १० सर्वाधिक धनी व्यक्तिहरूको कुल सम्पत्ति उल्लेख्य रूपमा वृद्धि भएको छ । ट्रम्पका विशेष सर्मथक बनेर उदाएका इलन मस्कदेखि अन्य टेक अर्बपतिहरू, जेफ बेजस, ल्यारी एलिसन, बिल गेट्स, स्टिभ बालमर, ल्यारी पेज, सर्गेइ ब्रिन लगायतको कुल सम्पत्ति बुधबार ट्रम्पले चुनाव जितेको तय हुनासाथ ६४ अर्ब डलरले बढेको ब्लुमबर्गले जनाएको छ ।
सबैभन्दा धेरै आर्जनचाहिँ टेस्ला एवं स्पेस एक्सका मालिक इलन मस्कले गरेका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको पहिलो स्थानमा रहेका मस्कको सम्पत्ति बुधबार साढे २६ अर्ब डलरले बढेर २९० अर्ब डलर पुगेको थियो । अमेजनका संस्थापक जेफ बेजसको सम्पत्ति ७.१ अर्ब डलरले वृद्धि भएको थियो । डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसको समर्थनमा ‘द वासिङटन पोस्ट’ ले प्रकाशित गर्न लागेको घोषणा अन्तिम समयमा रोक्न साहुजीका रूपमा भूमिका खेलेका बेजसलाई ट्रम्पको जितले आर्थिक फाइदा पुर्याएको छ ।
एक हप्तामै उनको सम्पत्ति बढेर २२८ अर्ब डलर पुगेको छ भने ब्लुमबर्ग इन्डेक्समा हाल उनी विश्वका दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । क्लाउड एप्लिकेस तथा क्लाउड प्लाटफर्म सेवा प्रदायक ओर्याकलका सहसंस्थापक ल्यारी एलिसनको नेट वर्थ (कुल सम्पत्ति) पनि बुधबारयता ९. ८ अर्ब डलर बढेर १९३ अर्ब डलर पुगेको छ । ल्यारी ट्रम्प समर्थक हुन् । कमला ह्यारिस सर्मथक गैरनाफामूलक संस्थालाई कुनै घोषणा नगरी व्यक्तिगत रूपमा ५ करोड डलर चन्दा दिएका माइक्रोसफ्टका संस्थापक बिल गेट्स र माइक्रोसफ्टै पूर्वकार्यकारी स्टिभ बालमरको सम्पत्ति पनि चुनावपश्चात राम्रै वृद्धि भएको छ । बिल गेट्सको नेट वर्थ १.८ अर्ब डलरले बढेर १५९ अर्ब डलर र बालमरको सम्पत्ति १४६ अर्ब डलर पुगेको छ ।
त्यस्तै, गुगलका पूर्वकार्यकारी ल्यारी पेज र सर्गेइ ब्रिन तथा बर्कसायर हाथवेका प्रमुख कार्यकारी अधिकृत वारेन बफेटलाई पनि ट्रम्पको जितले थप धनी बनाइदिएको छ । यीमध्ये कसैले पनि ट्रम्पलाई समर्थन भने गरेका थिएनन्, सबैले डेमोक्रयाट उम्मेदवारको पक्षमा मत जाहेर गर्दै आएका थिए । ब्लुमबर्गले एकैदिन सर्वाधिक सम्पत्ति वृद्धि भएको यो घटना सन् २०१२ पछि पहिलोपटक भएको उल्लेख गरेको छ । ‘ट्रम्पको जित र रिपल्बिकन दलले सिनेटमा बहुमत ल्याएपछि उनीहरूले व्यवसायमैत्री, करमा सहुलियतका व्यवस्था ल्याउँछन् भन्ने ठूलो धारणा बनिरहेको छ,’ आर्थिक विश्लेषक माइकल ब्लकले सीएनएनसँग भनेका छन् ।
ट्रम्पको आफ्नै सञ्चार माध्यम, प्रविधि कम्पनी र सामाजिक सञ्जाल प्लाटफर्मको शेयर मूल्य पनि बुधबार अकाशिएको थियो । ट्रम्पले जित्ने पक्कापक्की भएपछि उनका कम्पनीहरूको शेयर मूल्य एकपटक ३५ प्रतिशतसम्म वृद्धि भएर तल झरेको सीएनएनसले जनाएको छ । राष्ट्रपतिमा निवार्चित ट्रम्पको करिब साढे ११ करोड कित्ता शेयर बुधबार ३।९ अर्ब डलरबाट वृद्धि भएर करिब ५।३ अर्ब डलर मूल्यका भएका थिए ।