२०८१ कार्तिक २१ गते बुधवार | 2024 November 6th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज ‘खरना’ मनाईदै

२१ कार्तिक , महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।

आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास व्रत बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मंसिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस