काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको ४७ औँ राष्ट्रपति बन्नका लागि ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ ।
कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएपनि १६ करोड ८० लाखले मतदानका लागि दर्ता गरेको तथ्याङ्क छ । त्यसैगरी कूल इलेक्टोरल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले जीत हासिल गर्न सक्नेछन् । अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचकमण्डलमा आधारित छ । मतदान पूर्व देशैभरि भएको मतसर्वेक्षणअनुसार थोरै मतान्तरले जीतको छिनोफानो हुन सक्ने देखाएको छ । अमेरिकामा हुने सत्ता परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्छ । त्यसैले पनि नतिजा आफ्नो पक्षमा पार्न दुवै पार्टीले सबै संयन्त्र परिचालन गरेका छन् ।
विशेषगरी आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्रेटिक र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । यो चुनावमा ह्यारिस विजयी भएमा दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण हुनेछ । त्यस्तै मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सत्तामा पुग्न कडा मेहनत गरेको अवस्था छ । अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्यगरी सात राज्य (एरिजोना, जर्जिया, मिसिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग अर्थात् (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा विश्लेषण गरिएको छ ।
यस्तै आज हुने चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै ४ सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् । अमेरिकामा सामान्यतया विजेता प्रायःचुनाव सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताले थाहा पाउने गरेका छन् । तर केही विशेष परिस्थितिमा चुनावको परिणाम आउन समय लाग्न सक्ने हुन्छ । नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५, जनवरी २० तारिखमा अमेरिकाको संसद् ‘यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा शपथग्रहण गर्नुहुनेछ । वर्तमान राष्ट्रपति जो बाइडेन छन् ।