२०८१ पुष ९ गते मङ्गलवार | 2024 December 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेलाई १० दिन हिरासत राख्न अदालतको अनुमति

२० कात्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।

सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । आज पनि जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने कोशिष गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस