२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप लिग टु : स्कटल्याण्डलाई जित्न नेपालसामु १५५ रनको लक्ष्य, सन्दीप एक्लैको तीन विकेट

 

१३ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध उत्कृष्ट बलिङ गरेको छ ।

खेल ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे देखि जारी छ । नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो । नेपालले निक्कै कसिलो बलिङ गर्दै लाई ४१.४ ओभरमा नै अलआउट गर्यो । नेपालले जित हात पार्न अब १५५ रन जोड्नुपर्नेछ । खेलमा सन्दीप लामिछाने एक्लैले तीन विकेट लिए । करन केसी, सोमपाल कामी र गुलसन झाले दुई दुई विकेट लिए भने आरिफ शेखले एक विकेट लिए ।

सिरिजमा स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा राम्रो ब्याटिङ गर्दै २८६ रन बनाए पनि नेपालले स्कोर डिफेन्ड गर्न सकेन । नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ । २०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग टु को पहिलो सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । त्यो नै नेपालको एक मात्र जित हो । त्यस सिरिजमा त्यसपछिका दुई खेल हारेको नेपाल गत महिना क्यानडामा भएको सिरिजमा जितविहीन बन्यो ।

अहिलेसम्म ९ खेलबाट जम्मा ३ अंक रहेको नेपाल ८ टोली सम्मिलित लिग टु को सातौं स्थानमा छ । नेपालले ९ मध्ये ७ खेल हारेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अंक पाएको थियो ।

हेड टु हेड

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ओडीआईमा ६ खेल भएका छन् । सबै खेल अघिल्लो लिग टु साइकलमा भएको थियो । जहाँ नेपाल र स्कटल्याण्डले दुवैले समान ३ खेल जितेका थिए । नेपालले स्कटल्याण्डलाई पछिल्लो दुई खेलमा कीर्तिपुरमा पराजित गरेको थियो ।

२०२२ जुलाईमा स्कटल्याण्डमै भएको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई ५ विकेटले हराएको थियो । त्यसपछि अर्को खेलमा नेपाल ८ विकेटले पराजित भयो । लिग टु अन्तर्गत नै २०२२ डिसेम्बरमा नामिबियामा भएको खेलमा नेपाल ३ विकेट र ८ विकेटले पारजित भएको थियो । २०२३ फेब्रुअरीमा नेपालमै भएको लिग टु मा भने नेपालले सानदार प्रदर्शनै गर्दै स्कटल्याण्डलाई दुवै खेलमा हराएको थियो । नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस