२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली नोटमा चुच्चे नक्सा छापिँदै

काठमाडौं । पहिलो पटक नेपाली नोटमा लिम्पियाधुरासहितको नक्सा समेटिने भएको छ । लिम्पियाधुरासहितको नक्सा जारी भएको करिब ४ वर्षपछि नेपाल राष्ट्र बैंकले पहिलो पटक १ सयका नोटमा पूर्ण (चुच्चे) नक्सा समेट्ने भएको छ ।

सर्वसम्मत ढंगबाट संविधान संशोधनमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर २०७७ जेठ ३१ गते नेपालको नयाँ चुच्चे नक्सालाई पारित गरेको थियो । असार ४ गते राष्ट्रपतिबाट प्रमाणीकरणसमेत गरिएको थियो । ०७७ जेठ ७ मा सरकारले यो नक्सा जारी गरेको थियो ।

यसपछि विभिन्न क्षेत्रमा पुराना नक्सालाई बदलेर नयाँ फेरिए । तर, अब बल्ल केन्द्रीय बैंकले चुच्चे नक्सासहितको नोट छपाइ गर्न प्रक्रिया अघि बढाएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा लगातार समाचार प्रकाशित गरेपछि सरकारले अध्यावधिक नक्सा जारी गर्न बाध्य भएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल नोटको डिजाइनको निर्णय गर्ने छुट्टै समिति भएकाले सो समितिको निर्णयअनुसार पहिलो पटक डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गर्न लागेको जानकारी दिए । उनी भन्छन्, ‘चुच्चे नक्साको निर्णय भएपछि सय दरका नोट स्टकमै भएकाले छपाइ नगरिएको र अहिले बल्ल आवश्यक परेकाले बदलिएको नयाँ नक्सालाई समेट्ने समितिको निर्णयअनुसार राख्न लागिएको हो ।’

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना सार्वजनिक गर्दै सो कम्पनीलाई १ सय रुपैयाँ दरको नोट ३० करोड थान बराबर डिजाइन, मुद्रण, आपूर्ति र वितरणका लागि ठेक्का प्रदान गर्न आशयपत्र जारी गरेको जानकारी दिएको छ ।

केन्द्रीय बैंककाअनुसार बोलपत्रदाताहरूबाट न्यूनतम मूल्यांकन गरी चीनको सो कम्पनीलाई ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलरमा उक्त परिमाणको नोट छापेर उपलब्ध गराउने सबै जिम्मा दिइएको हो । सम्झौता भएको उक्त अमेरिकी डलरलाई आइतबारकोे विनिमय बिक्रीदर प्रतिडलर १३४ रुपैयाँ ८४ पैसामा हिसाब गर्दा कुल १ अर्ब २१ करोड ३१ लाख ४६५ रुपैयाँ २८ पैसामा नोट छापिने अनुमान गर्न सकिन्छ । यसअनुरूप सय रुपैयाँ दरको ३० करोड थानलाई भाग गर्ने हो भने एउटा नोट छाप्न करीब ४ रुपैयाँ ०४ पैसा लागत पर्न जाने देखिन्छ ।

अधिकांश देशको केन्द्रीय बैंकले मुलुकको लागि मुद्रा छपाइ तथा निष्कासन गर्ने गर्छन् । नेपालमा वि.सं २०१३ मा नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि राजा त्रिभुवन शाहको पालामा खजाञ्ची पण्डित जनकराज पाण्डेको हस्ताक्षरमा वि.सं २००२ असोज १ गते पहिलो पटक कागजी नोट निष्कासन गरिएको थियो । यसपछि २ जना खजाञ्ची पण्डित भरतराज र नरेन्द्रराज खजाञ्ची थिए । त्यतिबेला सदर मुलुकी खानाले नोट छपाइ गथ्र्यो । वि.सं २०१६ फागुन ७ गते पहिलो गभर्नर हिमालयशमशेर जबराको हस्ताक्षरबाट नोट छपाइ गरिएको थियो । हालसम्म १८ जना गभर्नरको हस्ताक्षरमा नोट निष्कासन भइसकेका छन् ।

कानुनलाई कार्यान्वयन गर्न तथा आन्तरिक प्रक्रियालाई व्यवस्थित गर्न राष्ट्र बैंकले नोट छपाइ तथा सिक्का टकमरी निर्देशिका बनाएको छ । यसअनुसार हरेक वर्ष मुलुकका लागि कति नोट छपाइ आवश्यक छ भनेर प्रक्षेपण गरेपछि तहगत प्रक्रिया पु¥याएर मात्रै नोट निष्कासन गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस