२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिला साफमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै

काठमाडौं, कात्तिक ११ । साफ वुमेन्स च्याम्पियनसिपमा आइतबारदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। काठमाडौंमा जारी साफको सेमिफाइनलमा पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ।

दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ। महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो।

अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ। सन् २०२२ मा भएको खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको थियो। त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो।

यद्यपि यसपालि अनुभवी खेलाडी र घरेलु मैदानको लाभ नेपालले लिन सक्छ। नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो। समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । गोलअन्तरले नेपाल समूह बिजेता र भुटान उपविजेता बनेको थियो।साविक विजेता बंगलादेश समूह बी को विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

दोस्रो खेलमा पाकिस्तानले साविक विजेता बंगलादेश विरुद्ध निर्धारित ९० मिनेटसम्म अग्रता लिएपनि अतिरिक्त समयमा गोल खाएपछि खेल १-१ को बराबरीमा सकिएको थियो । बंगलादेशले हार टार्दै समूह चरणबाटै बाहिरिने सम्भावनालाई टारेको थियो । त्यसपछि बंगलादेशले भारतलाई ३-१ ले पराजित गर्दै समूह ए को विजेता बनेको हो ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस