२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपनिर्वाचनको तयारी तीव्र, निर्वाचन अधिकृतको कार्यालय तोकियो

४ कार्तिक , काठमाण्डौँ । निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिएसँगै त्यसका लागि आवश्यक तयारी तीव्रता दिएको छ । गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनमार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी अघि बढाएको हो ।

व्यवस्थापकीय, प्राविधिक र समन्वयको कार्यलाई तीव्र बनाएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार यही मंसिर १६ गते आइतबार हुने उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ ।

आयोगका अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने छ । त्यसै गरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।

निर्वाचन आयोगले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरूलाई निर्देशन दिएको छ । यसले गर्दा अब राजनीतिक दलहरूले जाजरकोटको नलगाढ नगरपालिका, दोलखाको गौरीशंकर र बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ । ती तीनवटै स्थानीय तहमा हाल मेयर अध्यक्षमा पुरुष छन् ।

त्यसै गरी कीर्तिपुर नगरपालिका, काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला भएकाले ती स्थानीय तहमा दलहरूले महिला वा पुरुष उम्मेदवार भने बनाउन सक्छन् ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस