२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पुण्य गौतमको टाउकोमा एक दर्जन टाँका, बाटो ढुकेर रड प्रहार

काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतम विश्वासलाई रड प्रहार गरेर घाइते बनाइएपछि नेपाल मेडिकल कलेजमा उपचाररत छन् । उनको टाउकोमा दुई ठाउँ गहिरो चोट छ । हिजो राति ९ बजेतिर आफ्नो जोरपाटीस्थित घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको थियो । मोबाइलमा बोल्दै आइरहेको बेलामा घर नजिकै उनलाई अज्ञात व्यक्तिले रडले हानेका थिए । गौतम ढलेपछि छरछिमेकीहरु आएर उद्दार गरे । तत्काल उनलाई ट्याक्सीमा हालेर अस्पताल पठाइएको थियो ।

आक्रमणकारी को हुन् भन्ने खुलेको छैन । गौतमले आक्रमणमा एक जना मात्रै देखेको बताएका छन् । आक्रमणकारीलाई आफूले नचिनेको उनको भनाइ छ ।

उनीमाथि दुईपटक प्रहार भएको थियो । एउटा चोट टाउकाको अगाडि भागमा र अर्को पछाडि भागमा छ । चिकित्सकले दुवैतिर गरी एक दर्जन जति टाँका लगाएका छन् । हातमा पनि सामान्य चोट लागेको छ । गौतम ढलेपछि आक्रमणकारी भागेका थिए । आक्रमणका क्रममा गौतमको मोबाइल बाटोमा खसेको थियो भने ब्याट्री उछिट्टिएको थियो ।

आक्रमणकारीले गौतम आउने बाटोमा ढुकेर बसेको अनुमान छ । केही व्यक्तिहरु ओहोरदोहोर गरेको र घरमा पनि नियालेको छरछिमेकीले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस