२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हेलिकप्टर चढेर सिन्धुली पुगे ३ मन्त्री

२२ असोज, काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत गृहमन्त्री रमेश लेखकसहित तीन मन्त्री सिन्धुलीको खुर्कोट पुगेका छन् । गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राईसहितको टोली खुर्कोटमा पुगेको हो ।

१२ र १३ असोजमा आएको वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध भएको १० दिनपछि लेखक अनुगमनमा निस्किएका हुन् । उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् । रामेछापतर्फको ५१ मिटर बगेको पुलमा नै बेलीब्रिज राखेर यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् ।

साथै उनीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनर्निर्माण, उद्धार र राहतका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, स्थानीय जनप्रतिनिधि लगायतसँग छलफल पनि गरेका छन् ।

सिन्धुलीको वस्तुस्थिति बुझेपछि मन्त्री लेखकसहितको टोली सेनाकै हेलिकप्टरमार्फत सिन्धुपाल्चोकको चौतारा र ललितपुरको महांकाल जाने तयारी छ । बाढी प्रभावित क्षेत्रको अवलोकन पछि सेनाकै हेलिकप्टरमार्फत टोली काठमाडौं फर्किने मन्त्री लेखकको सचिवालयले जनाएको छ । टोलीसँग पूर्व मन्त्री गोकुल बास्कोटा र मोहन बास्नेतपनि छन् ।

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस