२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुग्लिनमा रवि लक्षित कालो ब्यानर र कालो मास्क, कार्यक्रम स्थलमै हात हालाहाल

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर दुईपटक सरकारको गृहमन्त्री पनि भइसके । तर, निर्वाचित भएर सरकारको नेतृत्वमा जाँदा उनले यस क्षेत्रका मतदातालाई सार्वजनिक समारोहमा सम्बोधन गर्न आएका थिएनन् । अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवनमा छन् । उनको केही सार्वजनिक कार्यक्रम पनि तय भएको छ । आज शनिबार पनि दुग्ध व्यवसायी किसानका मर्काका बारेमा हुने एउटा अन्तरक्रियात्मक कार्यक्रममा लामिछानेले भाग लिँदैछन् ।

हिजो शुक्रबार मुग्लिन बजारमा लामिछानेको सार्वजनिक सुनुवाइ थियो । बिहान ११ बजे भनिएपनि केही ढिलो गरि सुरु भएको सार्वजनिक सुनुवाइ दुईघण्टा भन्दा लामो चल्यो । चितवनमा लामिछाने आउँदा सहकारी ठगीका विषयमा चर्चा हुनु सामान्य विषय हो । तर, सार्वजनिक सुनुवाइ कार्यक्रम आरोप प्रत्यारोपमा केन्द्रित थिए । उनले सहकारीको ठगीमा आफ्नो संलग्नता नभएको पनि पटक–पटक सार्वजनिक सुनुवाइमा बताएका थिए ।

सार्वजनिक सुनुवाइपछि रवि लामिछाने निस्किने बेला करिब १० जना जतिको स्थानीयले कालो ब्यानर र कालो मास्क लगाएर सहकारी पीडित आन्दोलन भनेर निस्किएका थिए । उनीहरुले नाराबाजी गर्नुअघि नै लामिछाने भने मुग्लिन छोडेर भरतपुरतर्फ आइसकेका थिए । कालो व्यानर लिएर निस्किएका समूहलाई रवि लामिछाने समर्थकले कति पैसा खाएर आइस् झोलेहरु भनेर जब गाली गरे तब दुबैतर्फ आक्रोश बढ्यो । कालो ब्यानर बोक्नेमध्येका एकजनाले रविका समर्थकको कठालो समाते । यही बीचमा प्रहरीहरु आएर लिए । स्थानीयले पनि झगडा हुन रोक्ने प्रयास गरे । त्यसपछि रवि लामिछाने समर्थकले ती कठालो समात्ने केटालाई अलिपरसम्म लखेटे । प्रहरीले झगडा रोक्यो ।

सोही घटनाको बारेमा सोध्दा इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्स्पेक्टर निर्मला भण्डारी करिब ५–७ मिनेटको बीचमा भएको विवादको घटना हो भन्छिन् । उनका अनुसार कुनै पनि राजनीतिक दलका झण्डा वा घोषित कार्यकर्ता त्यहाँ थिएनन् । सहकारी पीडित भनेर उनीहरुले व्यानर लिएपनि एकैछिनमा प्रहरीले घटना साम्य बनाएको उनले बताइन् । सामाजिक सञ्जालमा भने एमाले काँग्रेसका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले लखेटेको भन्दै भिडियो भाइरल बनाइएको छ । तर, निर्वाचित भएर सरकारको नेतृत्वमा गइसकेका आफ्नो क्षेत्रका नागरिकमध्ये सहकारी पीडितलाई लामिछानेले सम्बोधन नगरिदिँदा उनीहरुले पीडा पोखेका इच्छाकामना ५ का स्थानीय ताराबहादुर गुरुङले बताए ।

 

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस