२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यी प्रदेशमा झरी, बाढीपहिरो र डुबानको जोखिम

१६ असोज, काठमाडौं । कोशी प्रदेशमा भारी वर्षा भइरहेको छ । आज दिनभर कोशी प्रदेशमा झरी पर्ने छ । भोलि पनि वर्षाको सम्भावना छ । कोशी प्रदेशमा केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा छ । त्यसैले यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने सम्भावना छ । यसअघि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पुर्‍याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

सुनसरी र मोरङमा बढी वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार विगत एक घण्टाको अवधिमा सुनसरीको तरहरामा भारी वर्षा भएको छ । बिहान पौने आठ बजेसम्मको एक घण्टाको अवधिमा तरहरामा १३.४ मिलिमिटर वर्षा मापन भइसकेको छ । त्यहाँ २४ घण्टादेखि नै वर्षा भइरहेको छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ ।

सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ । मौसमविदहरुअका अनुसार आज दिउँसो कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको पनि सम्भावना छ ।

पानी पार्ने यो बादल भारतको आसाम, मेघालय हुँदै नेपाल प्रवेश गरेको छ । यो नेपालमा जति पश्चिम सर्दै जान्छ, त्यति कमजोर हुँदै जाने छ । यसको हल्का प्रभाव काठमाडौं उपत्यकासहित बागमती प्रदेश र गण्डकी प्रदेशसम्म पर्ने छ । पूर्वानुमान अनुसार नै बागमती प्रदेशका सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा पनि हल्का वर्षा भएको छ ।

काठमाडौंमा अहिले बादल लागिरहेको छ । तर दिउँसो भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन् । अहिलेको प्रणालीको असर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने खासै नपर्ने मौसमविदको भनाइ छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस