२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने, हिजो हिडेका गाडी कलंकी मात्र पुग्दै

१५ असोज, काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले १२ गतेको विपद्ले बस सञ्चालन हुननसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको बताए । आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने उनले बताए । ‘हाम्रो कुरा बन्द गर्ने नै हो । हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकी र नागढुंगामै छन्,’ उनले भने, ‘ बुकिङ गरेर के गर्ने ?’

आज महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने उनले बताए । धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । ‘१७ गतेदेखिका लागि धेरैले टिकट बुकिङ गरेका छन्,’ उनले भने, ‘यसबारे के गर्ने भन्नेबारे सरकारसँग छलफल हुन्छ । साँझ विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।’

१२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ । सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । अरनिको राजमार्ग भने पूर्णरुपमा बन्द जस्तै छ । घटस्थापनाको दिनदेखि टिकट लिने गरी अग्रिम बुकिङ खुलाइएको थियो । तर, त्यसबेलासम्म बस सञ्चालन हुनसक्ने अवस्था नरहेको यातायात व्यवसायीको तर्क छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस