२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बीपी राजमार्ग दशैंअघि खुलाउन नसकिने महानिर्देशकको स्वीकार, यस्ता छन् अरु विकल्प

काठमाडौ । रोशीको बाढीले बगाएको राजमार्ग अन्तर्गतको भकुण्डेतर्फको मंगलटारमाथि खुर्कोट सडकखण्ड पुनः निर्माणका लागि सडक विभागले काम थालेको छ । चारवटा डोजर लगाएर सडकमा अस्थायी व्यवस्था गर्न खोजिए पनि दशैंअघि सम्भव नहुने देखिएको छ ।

खुर्कोट सडक डिभिजन कार्यालयका सूचना अधिकारी प्रदीप तामाङले खुर्कोटको पुल भत्केको र नेपालथोकदेखि माथि भकुण्डेबेँसी आसपास २.५ किलोमिटर सडकमा क्षति पुगेको बताए । मान्छेसमेत हिँड्नसक्ने अवस्था नरहेको उनले जानकारी दिए । नेपालथोकबाट बर्दिबाससम्म जान कुनै समस्या छैन । तर, नेपालथोकबाट सिन्धुली र काभ्रेको २.५ किलोमिटर सडक बाढीले बगाएका कारण कुनै पनि सवारी साधन जान सक्ने अवस्था छैन । यस्तै वैकल्पिक मार्ग मानिएको चरिकोबाट रामेछाप र दोलखाको बोर्डरको किर्ने खोलाको पुल पनि भत्किएको छ ।

सडक विभागका महानिर्देशक रामहरी पोखरलले मान्छेसमेत जान नसकिने अवस्थामा रहेको उक्त ठाउँको मर्मत कार्यका लागि ४ वटा डोजरले काम गरिरहेको बताए । धुलिखेलबाट करिब ३४ किलोमिटरको दूरीमा रहेको चौकीडाँडा भन्ने ठाउँमा २ वटा डोजर लगेर बाटो मिलाउँने काम भइरहेको छ । यस्तै मंगलटारबाट पनि २ वटा मेसिनले काम गरिरहेको महानिर्देशक पोखरेलले बताए ।

पोखरल भन्छन, ‘हामीले दशैँअघि नै अस्थायी संरचना बनाएर आवत जावत गर्न सकिने बनाउन खोजेका छौं । तर, सकिएला जस्तो छैन । पहिला अस्थायीबाट काम चलाएर पछि बजेट नै विनियोजन गरेर स्थायी मर्मत गर्छौं ।’

दशैंमा घर जानेहरूका लागि के हुन सक्छ त विकल्प ?
पूर्वतिरको यात्रा गर्नेहरूले हेटौंडा हुँदै यात्रा गर्न सकिने वैकल्पिक अवस्था रहेको तामाङले बताए । यस्तै रामेछाप, ओखलढुंगा, खोटाङलगायतमा चरिकोटबाट जान सकिने अवस्था रहेको छ । बीपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस