डा. ओममूर्ति अनिल, काठमाडौँ । विश्वमै मुटु रोगको जोखिम केही दशकयता बढ्दै ह्वात्तै बढेको छ । खासगरी युवा पुस्तामा कम उमेरमै मुटु रोगको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटु रोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरूमा हुने गर्दछन् ।
नेपाललगायतका दक्षिण एसियाली राष्ट्रहरूमा युवामा मुटु रोगको प्रकोप वर्षेनी बढ्दै गएको देखिन्छ । केही वर्षअघिको तथ्याङ्कअनुसार विकसित राष्ट्रहरूमा हार्ट अट्याक (हृदयाघात) हुने औसत उमेर ६० वर्ष भनेता पनि अविकसित राष्ट्रहरूमा १० वर्ष अगाडि हुने देखाएको छ । भारतमा हृदयाघात हुने औसत उमेर ५० वर्षको हाराहारीमा रहेको देखाएको छ भने दुई तिहाइ मृत्यु कम उमेरका व्यक्तिहरूलाई हुने गरेको अनुसन्धानबाट देखिन्छ । विश्वव्यापीकरणै वातावरणीय प्रदूषणका कारण पनि मुटु रोग समस्या बढिरहेको पाइन्छ ।
अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, मानसिक तनाव, मोटोपना, प्रशिक्षण र नियमित स्वास्थ्य जाँच नगर्नु, चुरोट र अत्यधिक मदिरा सेवन युवाहरूमा हुने मुटु रोगको प्रमुख कारणको रूपमा लिन सकिन्छ । धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरूको सेवन गर्ने चलनले पनि उच्च रक्तचापको समस्या बढेको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेको छ । अधिकांश युवाहरूमा मुटुरोप्रतिको सचेतना अझै आउन सकेको देखिँदैन । आधुनिकीकरणले अस्वस्थ जीवनशैली बढिरहेको देखिन्छ ।
युवाहरूमा यो समस्या बढी देखिनुको मुख्य कारणहरूमा शारीरिक व्यायाम नगर्ने, मदिरा चुरोटको सेवन बढी गर्ने, स्वास्थ्य जाँच नगर्ने, औषधि खान नचाहने आदि प्रमुख कारण हुन् । युवाहरू मानसिक तनावको सिकार पनि बढी भएको र यसले पनि मुटु रोगको समस्यालाई बढाएको देखिन्छ । अध्ययन अनुसन्धानले ९० प्रतिशत हृदयघात रोकथाम गर्न मिल्ने बताउँछ । आजको परिस्थितिमा युवाहरूले मुटु रोग र हृदयाघातबाट बच्न लिनुपर्ने निम्न पाँच व्यावहारिक सावधानीहरूमा ध्यान दिनु आवश्यक छ ।
स्वस्थ देखिएमा पनि जाँच गर्न जरुरी
अधिकांश युवाहरूमा कुनै न कुनै किसिमको मुटु रोगका कारणहरू अदृश्य रूपमा रहेको १० वर्ष अगाडि गरिएको अनुसन्धानमा देखिएको थियो । अनुसन्धानको क्रममा अधिकांश युवाहरूले मलाई मुटु रोगको कुनै लक्षण नै छैन, किन जाँच गर्नुपर्यो भन्ने धारणा राखेका थिए । त्यही गलत धारणा र भ्रममा पर्दा समयमै आफूभित्र उक्त रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलजस्ता समस्याहरू भएको थाहा पाउन सकेनन् र पछि एक्कासी जटिल समस्या भोग्नुपरेको देखिन्छ ।
त्यसैले समय अनुकूल बाहिर केही रोगको लक्षण नदेखिए तापनि स्वास्थ्य जाँच गरेकामा मुटु रोगको जटिलताबाट बच्न सकिन्छ । समय समयमा आफ्नो रक्तचाप, चिनी रोग र कोलेस्ट्रोलको स्तर नाप्ने गर्नुपर्छ । यसको लागि धेरै खर्च पनि गर्नु पर्दै । सामान्यतया एक हजार रुपैयाँ खर्च गरे पुग्छ । यदि यी मुटु रोगका कारणहरू अलि बोर्डर मा छ भने जीवनशैलीमा व्यापक परिवर्तन गर्नुपर्छ र नियमित अनुगमन गरिराख्नु पर्छ ।
औषधि प्रयोगको महत्त्व
हाम्रो अनुभवमा सहरी भेगमा बसोबास गर्ने ४० वर्षमुनिका युवाहरूमा मुटु रोगका कारणका लागि औषधिको सेवन गर्नुपर्ने देखिन्छ तर यति कम उमेरमा औषधि सेवन गर्न हुन्न भन्ने भ्रममा परी चिकित्सकको सल्लाह विपरीत औषधि सेवन नगरेर स्वास्थ्य दुर्घटना हुने गरेको पाइन्छ ।
समयमै औषधिको प्रयोग महत्त्व बुझी यस्ता दुर्घटनाबाट जोगिन सकिन्छ । औषधिको साइडइफेक्टको बारेमा भ्रम पालेर चाहिने अवस्थामा पनि सेवन नगरी हताहत भएको रोगले युवा अवस्थामै जटिलतामा प्रवेश गरेको अनेकौँ उदाहरण छन् ।
चुरोट
हाम्रो समाजमा असङ्ख्य युवा चुरोटको सेवन गर्दछन् । चुरोटको कुल तुरुन्तै केही हानि गरेको नदेखेता पनि यसले अदृश्य रूपमा मुटुमा असर गरिरहेको हुन्छ । एक/दुई खिल्लीले पनि पछि गएर मुटु रोगको जोखिम निम्त्याउन सक्ने तथ्यबाट अभिज्ञ भएको देखिन्छ । युवाहरूमा हृदयाघातको प्रमुख कारण चुरोट मानिन्छ । त्यसैले समयमै चुरोट त्याग्नु जरुरी छ । चुरोट त्यागेको केही समयभित्र यसको दुष्प्रभाव घट्ने अनुसन्धानहरूले देखाएको छ । प्रेरणाको कमीले थाहा भएर पनि चुरोट त्याग्न नसकेका धेरै छन् ।
तयारी (पत्रु) खाना
बिग्रिँदो जीवनशैलीले गर्दा अधिकांश युवाहरूमा जङ्क फुट/फास्ट फुड अर्थात् तयारी (पत्रु) खाना र घर बाहिरको खाने गरेको देखिन्छ । इच्छा वा बाध्यताले जेले भए पनि यसको दुर्गामी असरबाट बच्न गाह्रो छ । दुर्भाग्य बस अधिकांश युवाले फास्ट फुडको सेवनले स्वास्थ्य र मुटु रोगको प्रकोपलाई नजरअन्दाज गरेको देखिन्छ ।
समयमै यस्तो खालको खाद्य संस्कृतिमा सुधार गरी आफ्नै घरमा बनाएको स्वास्थ्यकर खाना खाने संस्कार विकास गर्नु आवश्यक छ । प्राकृतिक रूपमा उत्पादन भएका र घरको खानालाई प्रवर्द्धन गर्न सकिएमा मुटु रोगको समस्या धेरै हदसम्म कम हुन जान्छ । प्रमुख प्रशोधित खानेकुरामा बिस्कुट, चाउचाउ, पाउरोटी, केक, पेस्ट्रिज, पिजा, बर्गर, ससेज, आइसक्रिम, दुनोट, फ्राइड चिकन, हेम बर्गर, चिप्स, चकलेट, जुस, कोल्डड्रिङ्क्स आदि पर्छ ।
व्यायामको महत्त्व
बिरामी व्यक्ति, औषधि सेवन गर्ने व्यक्ति र वृद्ध व्यक्तिले मात्र बिहानको हिँडाइ वा नियमित व्यायाम गर्नुपर्ने जनधारणा भएको हामी पाउँछौँ । त्यसैले होला आधुनिक युगमा शारीरिक रूपमा निष्क्रिय र मोटोपनको सिकार भएका विचार किशोर र युवाहरूको संख्या बढ्दै गएको देखिन्छ । आधुनिकताले निकट भविष्यमा यसको संख्या घट्ने देखिँदैन ।
युवाले २० वर्ष वा कम उमेरदेखि नै आफूलाई नियमित शारीरिक व्यायाममा संलग्न गरी जीवनशैलीको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा शारीरिक गतिविधिलाई अवलम्बन गरी विभिन्न किसिमका दीर्घ रोग र औषधि उपचारबाट बच्न सकिन्छ । एउटा स्वास्थ्य व्यक्तिले दैनिक ३० मिनेटभन्दा बढी सक्रिय व्यायाम गर्नपर्छ । बढी गर्न सके अझ राम्रो मानिन्छ ।
कुनै प्रकारको नियमित शारीरिक गतिविधिमा आफूलाई संलग्न गर्नुपर्छ । खेलकुद, साइकल, पौडी, योगा, अभ्यास, जुम्बा आदि जे गरे पनि हुन्छ । आफ्नो परिस्थिति अनुकूल व्यायाम रोज्न सक्नुपर्छ । मुटु रोगको थालनी पहिले ४० वर्षमै भइसक्ने विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । पहिले ४० वर्षमै मुटु रोगको कारणलाई जीवनशैली र आवश्यकता परे चिकित्सकको परामर्श अनुसार औषधिको सेवन गरेर असामयिक मुटु रोग र त्यसबाट हुने आर्थिक, शारीरिक, मानसिक, पारिवारिक, सामाजिक क्षतिबाट आफूलाई जोगाउन सकिन्छ ।
अन्त्यमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ ।
फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनावबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो । ( लेखक डा. ओममूर्ति अनिल वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् )