२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सप्तकोसीमा ५६ वर्ष याताकै ठुलो बाढी

वराहक्षेत्र, असोज १२ गते । सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो ।

पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढ्दै गएको छ । शनिबार राति ९ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ५ लाख ९५ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । शनिबार बिहानबाट पानीको बहाव बढेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको थियो ।

अविरल वर्षासँगै सप्तकोसी नदीमा दुई दिनदेखि पानीको बहाव उच्च हँुदै आएको थियो । शनिबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ३६ हजार १० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो ।

नदीमा पानीको बहाव बढेर ८ बजे ४ लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेन्ड पुगेको थियो । त्यस्तै १२ बजे ५ लाख ७ हजार ६९० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । ९ लाख क्युसेक पानीको चाप थाम्न सक्ने कोशी ब्यारेजको सबै ढोका खोलिएको भए पनि साँझबाट कोसी व्यारेजको पुलमाथिबाट पानी बग्न थालेको छ ।

अहिलेसम्म सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको कोशी योजना बिराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले बताउनुभयो । त्यसयता सबैभन्दा बढी पानीको बहाव आज शनिबार मापन गरिएको छ ।

भूआर्जन अधिकृत सीटौलाका अनुसार कोसीमा ठुला बाढी आएका वर्षहरु क्रमशः सन् १९८७ मा ५ लाख १ हजार ७७१ क्युसेक, सन १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १९३ क्युसेक, सन् २००४ जुलाई ११ मा ३ लाख ९८ हजार ६६९ क्युसेक र २०१९ जुलाई १३ मा ३ लाख ७१ हजार ११० क्युसेक. पानीको वहाव आएको थियो ।

सन् २०२० मा ३ लाख ३४ हजार नौ सय, सन् २०२१ म २ लाख ७४ हजार, सन् २०२२ मा २ लाख ४३ हजार, सन् २०२३ अगस्ट १४ मा ४ लाख ६२ हजार ३४५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको कोशी योजना बिराटनगर सम्पर्क तथा भूआर्जन कार्यालयले जनाएको छ ।

कोसीमा पानीको बहाव उच्च भएसँगै वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ र बेलका नगरपालिकाको २ र ३ वडाको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापुक्षेत्र जलमग्न भएको छ । टापुबाट भाकलपुर क्षेत्र निक्लिने भूभागमा समेत बाढी आएपछि टापुबासीहरु टापुबाहिर आवतजात गर्न नसकिएको टापुका बद्री राईले बताए ।

भारी वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुँदै गइरहेको छ । कोशीमा पानीको जलसतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा यो समाचार तयार पर्दासम्म कुनै क्षति गरेको छैन । पुर्वी तटवन्धको राजावास, प्रकाशपुर, मधुवनलगायत क्षेत्रमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धको नजिक आएको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस