नवलपुर, असोज १२ गते । नवलपरासीको सुस्तामा नारायणीको बाढी पसेको छ । बिहान बर्षाको पानीको निकास नहुँदा जलमग्न भएको सुस्तामा राति बाँध नै भत्काएर वस्तीमा पसेको हो । बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी प्रशासनले जनाएको छ । नारायणी नदीमा पानीको बहाव बढ्दो छ । राति ८ बजेको मापनअनुसार गण्डक ब्यारेजमा पानीको बहाव ५ लाख ४८ हजार २५० क्युसेक पुगेको छ ।
वस्तिमा नदीको पानी पसेका कारण स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि स्थानीयलाई माईकिङ गर्दै आग्रह गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए । उनका अनुसार त्यहाँ अहिले तीन फिटसम्म डुवान भएको छ ।
बाढी पसेको स्थानका नागरिकलाई सुस्तामा रहेको आपतकालीन आश्रय स्थलमा राखिएको छ । आपतकालीन आश्रयका लागि स्थानीय पालिकाले बनाएका दुईवटा भवनमा सार्ने काम भइरहेको प्रजिअ श्रेष्ठले बताए । शनिबार बिहान थारुगाउँ जलमग्न भएकोमा साँझ नदीको पानी सुस्ताको सैनिक टोलबाट पसेको हो ।
बाढी पसेको भए पनि मानवीय क्षति भने भएको छैन । जिल्लामा नारायणी नदी र खहरे खोलामा पानीको बहाव उच्च रहेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सजक रहन प्रशासनले आग्रह गरेको छ ।