२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उद्धारको याचना गर्दागर्दै खोलाले बगाएको भिडिओले राज्य नभएजस्तो बनाएर ह्दय छियाछिया

काठमाडौं । अहिले एउटा भिडिओ र त्यसैका तस्बीरहरुले सबैलाई स्तब्ध बनाएको छ । ललितपुरको नक्खु खोला किनाराको टहरोमाथि उद्धारको पर्खाइमा रहेका मानिसहरुलाई फेसबुकमा लाइभ गरेर उद्दारका लागि याचना गरिन्छ । झण्डै १० मिनेटसम्म चलेको लाइभमा बारम्बार उद्दारको याचना गरिन्छ । ती मानिसहरु तीन घण्टादेखि उद्दारका लागि पर्खिएर बसेको देखिन्छ ।

तर त्यही क्रममा टहरो बग्छ । बाढीसँगै मानिसहरु बग्छन् । उनले आफूसँगपनि उद्दार गर्न कुनै विकल्प नरहेको बताउँछन् । सहयोग गर्न नसकेकोमा आफूलाई नै धिक्कादै अब लाइभ अन्त्य गर्छु भन्दै लाइभ गर्न बन्द गर्छन् । यो हेर्र्दा भाषा नबुझ्नेकोपनि ह्दय छियाछिया हुन्छ । नजिकै भर्खरै बन्दै गरेको विशास मन्त्री क्वाटर छ । त्यो याचनाको समयसम्म राज्यका निकाय चुस्त दुरुस्त थिए भने उद्दार कर्मी र उद्दारका साधन आइपुग्थे । तर त्यो हुन नसक्दा राज्यका पदाधिकारीहरुलाई आम नागरिकले खुबै गाली गरिरहेका छन् । भिडियो अत्याधिक सेयर भइरहेको छ ।

भिडियोमा उर्लिएको भेलको बीचमा रहेको जस्तापाताको टहरोको छानामा चढेर चार जना व्यक्ति उद्धारका लागि पर्खिरहेको देखिन्छ। वारिपारिबाट मानिसहरू चिच्याइरहेका बेला चारै जनालाई खोलाले बगाउँछ।

बालबालिकासहितको उक्त समूहलाई स्थानीयवासी र केही सुरक्षाकर्मीले डोरी पठाएर उद्धारको प्रयास गरेका थिए। तर डोरी समाएर तर्ने प्रयास गर्दागर्दै टहरो ढल्छ । मानिसहरूलाई खोलाले बगाउछ ।

खोलाले बगाउनुअघि ती मानिसहरूले कम्तीमा तीन घण्टासम्म उद्धारका लागि पर्खिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। सुरक्षाकर्मीले दिएको जानकारीअनुसार उक्त टहरोबाट खोलाले बगाएका चारमध्ये तीन जनाको केही तलबाट उद्धार गरिएको छ भने एक जनाको अवस्था अज्ञात छ।

खोलाले ती व्यक्तिहरूलाई बगाउँदै गर्दा नक्खु करिडोरसँगैको कान्तिपुर आवास कोलोनीमा बसोबास गर्ने एकजना विज्ञापन व्यवासायी जीवन पोख्रेल फेसबुकमा लाइभ गर्दै थिए। उनले गरेको लाइभमा पनि ती व्यक्तिलाई खोलाले बगाएको अवस्थामा देखिएको छ। यही भिडिओ अहिले भाइरल छ । काठमाडौं उपत्यकाभित्रै समयमा उद्धार टोली नपुग्दा त्यस्तो अप्रिय घटना भएको भन्दै सामाजिक सञ्जालमा धेरैले सरकारको आलोचना गरेका छन्।

उनीहरूले विपद्‌को पूर्वतयारी र उद्धारमा देखिएको ढिलासुस्तिलाई लिएर विभिन्न प्रश्न उठाउँदै आक्रोश व्यक्त गरेका छन्। विपद्‌विज्ञहरूले चाहिँ ललितपुर महानगरपालिका भित्रसमेत घण्टौँ पर्खदा पनि पीडितहरूले उद्धारका लागि सहायता नपाउने अवस्थाले विपद् व्यवस्थापनमा नेपालको गम्भीर कमजोरीलाई उजागर गरिदिएको बताएका छन्।

सामाजिक सञ्जालमा व्यापक रूपमा शेअर भएको र धेरैले प्रश्न उठाएको उक्त घटनाबारे स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरकारी अधिकारीहरूसँग बुझ्दा कमजोरी भएको नै देखिन्छ । त्यस क्रममा लामो समयसम्म उद्धारका लागि पर्खिँदासमेत समयमै उद्धारको प्रयास नगरिँदा ती मानिसहरूलाई खोलाले बगाएको धेरैले बताएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर-१४ का वडाध्यक्ष अमृतजंग महतका अनुसार उनको वडाभित्र पर्ने घटनास्थल आसपास नक्खु खोला किनारामा केही टहराहरू बनाइएका छन्।

ती टहरामा कबाडी तथा ग्रील व्यवसाय सञ्चालन गर्नेहरू बस्ने गर्थे। त्यस्तै एउटा टहरोमा मानिसहरू फसेको खबर आफूले शनिवार बिहानै पाएको उनले बताए। म त्यहाँ पुग्दा त्यस्तै बिहानको ७ बजेको थियो। त्यस बेलासम्म अन्य तीन जनालाई खोलाले बगाइसकेको भन्ने सुनियो चार जना चाहिँ टहरोमा माथि चढेर बस्नु भएको थियो, उनले भने। हामीले उद्धारका लागि प्रहरी, नगरपालिकाको नगर प्रहरी र खुमलटारको सशस्त्र प्रहरीलाई फोन गरेर आग्रह गर्‍यौँ। सीडीओ साबलाई पटकपटक फोन गर्दा उहाँले कुनै रेस्पोन्स गर्नु भएन।

खोलामा पानी बढ्दै जाँदा उद्धारको पर्खाइमा रहेकाहरूलाई हेर्न र उद्धारका लागि सहयोग गर्न मानिसहरूको भिड लागेको थियो। उनका अनुसार सुरुमा त्यहाँ दुई जना प्रहरी पुगेका थिए र स्थानीयवासीको घरबाट लुगा सुकाउने डोरी ल्याएर टहरोमा रहेका मानिसहरूतर्फ फालियो। उनीहरूले डोरी समाए तर त्यसको सहायताले बाहिरिन खोज्दाखोज्दै खोलाले बगायो।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस