२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनकोशी, दुधकोशीका मोटर गुड्ने पुल बगे, पूर्व पहाड सम्पर्क विच्छेद

१२ असोज, सिन्धुली । लगातारको वर्षाका कारण सुनकोशी नदीको सतह बढ्दै जाँदा खुर्कोटस्थित मोटरेवल पक्की पुल र अरु दुई वटा झोलुङ्गे पुल बगाएको छ ।

खुर्कोट बजारबाट रामेछाम जोड्ने पक्की पुल सुनकोशी नदीले बगाएको हो । यो पुल बगाएसँगै रामेछाम र दोलखाको सम्बन्ध शहरी क्षेत्रसँग छुटेको छ । यसैगरी उदयपुरबाट खोटाङ जिल्लाको दक्षिणी बेल्ट देखि सदरमुकाम दिक्तेलसम्म जोड्ने सबैभन्दा महत्वपूर्ण पूल फोक्सिङटारको आर्क बृज दुधकोशीको बाढीले बगाएको छ। यसले पूर्वी पहाड सबैको सम्पर्क विच्छेद बनाएको छ ।

नदीको सतह बढ्दा खाङसाङ र खोल्मेस्थित झोलुङ्गे पुल पनि बगेको छ । ‘सुनकोशीको सतह यति धेरै बढेको मैले कहिल्यै देखेको थिइनँ’ सिन्धुलीका पूर्व सांसद गणेश पहाडीले भने, ‘हाम्रा पुस्ताले मात्र होइन, अघिल्ला पुस्ताले पनि यति माथिसम्म सुनकोशीको सतह आएको नदेखेको कुरा गर्छन् ।’

सुनकोशीको सतह बढ्दा खुर्कोट, मुलकोट, थङसाङ, दुम्जा लगायत बजार डुबेको छ । ‘सुनकोशी नदीको सतह यति धेरै बढ्यो कि जिल्लाको मुख्य बजारहरु डुबेको छ, क्षतिको अनुमान समेत गर्न सकिएको छैन’, पहाडीले भने ।

नदीको सतह बढेकाले अरु पुलहरु पनि जोखिममा रहेको उनी बताउँछन् । ‘पूर्वी पहाडी जिल्लाहरु ओखलढुंगा, सोलुखम्बु, खोटाङ लगायत पूर्वी नेपाल जोड्ने यो पुल पनि जोखिममा परेको छ’ उनले भने, ‘नवलपुरको पुल भने अहिलेसम्म केही भएको छैन ।’

लगातारको वर्षाले सडक, बिजुली र टेलिफोन अवरुद्ध भएकाले जनजीवन ठूलो समस्या देखिएको उनी बताउँछन् ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस