२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुग्लिन-नारायणगढ सडक भासियो

१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

तर सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र-३-०१-०२४च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भैरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भैरहेको छ ।

यस्तै ईच्छाकमना गाउँपालिका ३ को मौवाखोला, दतिखोला, पानीधारामा पनि सडक माथिबाट पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध छ ।

तीन नम्बर पुल नजिकै खसेको पहिरो हटाउन थालिएको छ । पहिरो हटाउन अझै ३/४ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस