२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुलेखानी जलाशय भरियो, गेट खोल्नु परेकाले नदी आसपास सचेत रहन अपिल

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ । जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछि शनिबार बिहान ५ः४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ ।

पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत् गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।

जलाशययमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ । केन्द्रका प्रमुख तारादत्त भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रुपमा खोलिएको हो ।

कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले दुईवटै ढोका पूर्ण रुपमा खोल्नुपर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गरे । बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरपर क्षेत्रका स्थाानीय बासिन्दाहरुलाई समयमै सुरक्षित र उच्च सतर्कताका साथ रहन केन्द्रले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस