२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अभियन्ता आशिका तामाङ विरुद्ध सरकारी निकायबाटै मुद्दा दर्ता

भक्तपुर । अभियन्ता आशिका तामाङ विरुद्ध मुद्दा दर्ता भएको छ । सूर्यविनायक नगरपालिकाको ९ र १० नं. वडाको सिमानामा रहेको झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गरेर अनुशन्धान गर्न माग गर्दै जाहेरी नै दर्ता भएको हो । झोलुङ्गेपुल चढेबापत पैसा लिन नपाइने भन्दै टिकट प्याड आगजनी गरेको र त्यहाँको अस्थायी संरचना समेत तोडफोड गरेको आरोपमा सूर्यविनायक नगरपालिकाले आफूलाई अभियन्ता भन्दै आएकी आशिका तामाङ विरुद्ध प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो ।

तामाङले सोमबार आफू सहित ६–७ जना लगेर अस्थायी संरचना तोडफोड गरेको र त्यहाँ रहेका कर्मचारीलाई धम्की समेत दिएको आरोप नगरपालिकाले लगाएको छ । चक्कु, कैंची, पेन्चिस, घन लगायतका घरायसी हतियार समेत लगेर उनीहरुले अब पछी यहाँ कसैले प्रवेश शुल्क लिन नपाउने भन्दै तामाङले टिकट प्याड खोसेर आगो लगाएको भिडियो सामाजिक सञ्जालमा समेत राखेकी थिइन् । त्यस क्रममा पुलमा राखिएको संकेत चिन्ह र अस्थायी संरचना समेत तोडफोड गरेको भन्दै नगरपालिकाका तर्फबाट कानून शाखाका प्रमुख कपिल बहादुर अधिकारीले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाटनै साँगाको पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिने गरेको थियो । स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क थियो । त्यसैगरी सुर्यविनायक नगरपालिकावासीलाई भने ५० प्रतिशत छुट दिइएको छ । नगरपालिकाले आन्तरिक आम्दानीका लागि ठेक्का लगाएर त्यहाँबाट शुल्क लिने गरेको थियो । प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुशी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको नगर प्रमुख बाशुदेव थापाले बताए ।

मेयर बासुदेव थापाले उक्त पुल पर्यटन प्रवर्द्धनका लागि बनाइएकाले पुलमा शुल्क लिनु अवाञ्छित नभएको दाबी गरे । पुलमात्र त्यहाँ पुग्ने बाटो हैन । पुरानो बाटो अर्कै छ । त्यो झोलुङ्गे पुल पर्यटन प्रवर्द्धनकै लागि बनाइएको हो । पुलमा टिकटक बनाउने, फिल्म सुटिङ गर्ने आदि गतिविधि हुन्छन् ।, उनले भने । त्यहाँबाट थोरै मात्र पैसा संकलन गर्ने गरिएको छ । त्यो रकम पनि व्यक्तिगत प्रयोजनका लागि नभएर नगरपालिकाको आन्तरिक आम्दानीका लागि हो । त्यही पैसाबाट त्यहाँका संरचनाहरुको मर्मत सम्भार गर्ने गरेका छौं उनले भने, केही व्यक्तिहरूले वास्तविकता नबुझी त्यहाँ उत्छृन्खल गतिविधी गरेका छन् । उनीहरुलाई कारबाही हुनुपर्छ ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पनि वास्तविकता नबुझेर अराजकता फैलाउनेलाई कारबाही हुनुपर्ने बताएका छन् । गुण्डागर्दी शैलीमा मान्छे ल्याएर बार बिगार्ने, टिकट प्याड आगो लगाउने जस्ता अराजक गतिविधि भएको छ । हामीले उनीहरुविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेका छौं । उनले भने ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले पनि आफूहरुले कानूनसम्मत नै रकम लिएको दाबी गरेका छन् । संघिय सरकारले नै बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिए अनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौं । पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ । उनले भने ।

नगरपालिकाको आर्थिक ऐनमा नै उक्त पुलबाट रकम सङ्कलन गर्ने व्यवस्था गरिएको उनले बताए । पुलको सञ्चालनको लागि नीजी क्षेत्रलाई ३९ लाख रुपैयाँमा ठेक्का समेत लगाइएको उनले बताए । तर, आर्थिक ऐनले निर्धारण गरेको २० रुपैयाँ शुल्क भन्दा बढी उठाएको भेटिए कारबाही गरिनेसमेत उनले बताए । तर, कानूनी आधार नबुझी नगरपालिकाबाट कुनै आधिकारिक जानकारी समेत नलिइ संरचना भत्काउनु अराजक भएकालए आशिका तामङ सहित अन्यलाई भने कारबाही गर्नुपर्ने उनले दाबी गरे ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस