२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रेस चौतारीसँग एमाले केन्द्रीय टोली ५–१ ले पराजित, उपाधि कलाकारको टोलीले चुम्यो [भिडियोसहित]

काठमाडौं । नेकपा (एमाले) युवा–विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा एमाले केन्द्रीय टोलीलाई प्रेस चौतारी नेपालको केन्द्रीय टोलीले ५–१ गोलको अन्तरले पराजित गरेको छ । पार्टी उपमहासचिव प्रदिप ज्ञवालीको नेतृत्वमा मैदानमा उत्रिएको टोलीलाई चौतारीका कप्तान केन्द्रीय कोषाध्यक्ष इन्द्र आचार्यले लगातार ३ गोलको ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए ।

उनको गोलमा प्रेस चौतारीका श्रीहरी थापाले उत्कृष्ट पास सृजना गरेका थिए । उक्त खेलमा एमाले केन्द्रीय टोलीको तर्फबाट केन्द्रीय सदस्य कर्ण थापाले एक गोल फर्काए । प्रतियोगितामा बरिष्ठ गायक बद्री पंगेनीको नेतृत्वमा रहेको राष्ट्रिय कलाकारहरुको टोलीसँग भने, प्रेस चौतारी पराजित भएको थियो । उक्त प्रतियोगिताको उपाधिपनि राष्ट्रिय कलाकारहरुको टोलीले चुमेको छ ।

स्वदेशी उत्पादन र औद्योगीकरण, राष्ट्रिय पूँजी निर्माणको सार, सुदृढ संगठन र युवा–विद्यार्थी परिचालन समाजवादको आधार भन्ने मुल नाराका साथ असोज १७ र १८ गते युवा–विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौ अधिवेशन काठमाडौंमा हुँदैछ । अधिवशनको पूर्व सन्ध्यामा यो प्रतियोगिता आयोजना गरेको अध्यक्ष रामजी सापकोटाले बताए । प्रतियोगिताको उद्घाटन गर्दै एमाले केन्द्रीय उपमहासचिव ज्ञवालीले खेल ले व्यक्तिलाई स्वस्थ, आत्माविश्वासी बनाउँनेसँगै देश कै नाम रोशन गराउने धारण राखे ।

प्रतियोगितामा एमाले केन्द्रीय टोली, प्रेस चौतारी नेपाल केन्द्रीय टोली, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ नेपाल, नेपाल खेलकुद महासंघ, राष्ट्रिय कलाकारहरुको टोली, नेकपा एमाले वागमती प्रदेश, नेकपा एमाले उपत्यका प्रदेश, नेकपा एमाले युवा विद्यार्थी ईलाका सहित १० टोलीको सहभागीता थियो । खेल नकआउट प्रणालीबाट खेलाइएको थियो । विजेता बद्री पंगेनीको कप्तानीमा रहेको राष्ट्रिय कलाकार टिम र उपविजेता अध्यक्ष क्षितिज थेवेको कप्तानीमा रहेको राष्ट्रिय युवा संघ नेपाल बनेको थियो ।

 

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस