२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज ओमानविरुद्धको खेलमा दीपेन्द्र फर्किने सम्भावना, यस्तो छ सम्भावित प्लेइङ ११

८ असोज, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा मंगलबार ओमानविरुद्ध आफ्नो प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना छ । नेपाल र ओमानबीचको खेल किङ सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा आज राति ८ः४५ मा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि ओमानविरुद्ध तीन परिवर्तन गरेको थियो ।

ओपनर कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई नेपालले बाहिर गरेको थियो । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल साह र आरिफ शेखलाई मौका दिएको थियो । तर पनि नेपाल १ विकेटले पराजित भएको थियो । टोलीमा कुनै परिवर्तन नगरेपनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो । जितको दबाबमा रहेको नेपालले टोलीमा ओमानविरुद्ध परिवर्तन गर्ने पक्कापक्की देखिन्छ ।

अलराउण्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किने बलियो सम्भावना छ । क्यानडासँग ८ रनमा आउट भएपछि अनिल साहलाई उनको स्थानमा मौका दिएको थियो । अनिल ओपनर तथा तेस्रो नम्बरका ब्याटर हुन् । तर अनिल ओमानसँग सातौं नम्बर खेल्दै ३ रन र क्यानडासँग छैटौं नम्बरमा ब्याटिङ गर्दै १ रनमा आउट भएका थिए ।

क्यानडाविरुद्ध खराब सट खेल्दै आउट भएको हुँदा उनी बाहिर हुने सम्भावना छ । दीपेन्द्र ब्याटिङसँगै अफ स्पिन र फिल्डिङ उत्कृष्ट गर्ने गर्दछन् । ओमानमा जिशान मकसुद र आयन खान जस्ता बायाँ हाते ब्याटर मध्यक्रममा हुँदा दीपेन्द्र अफस्पिनमा राम्रो गर्न सक्छन् । कुशल भुर्तेलको स्थानमा आएका विकेटकिपर अर्जुन साउद ५ र १० रनमा आउट भएका थिए । पछिल्लो खेलमा अर्जुन डिलोन हेलिगरको बल रोक्न खोज्दा आउट भएका थिए । जसको कारण नेपाल अनुभवी ओपनरका साथ मैदान उत्रन सक्छ ।

नेपालले बलिङमा एक परिवर्तन गर्ने सम्भावना छ । करण केसी र सोमपाल कामीले तल्लोक्रममा राम्रो ब्याटिङ गरेको हँदा उनीहरुलाई बाहिर गर्ने सम्भावना कम छ । यो अवस्थामा स्पिनर ललित राजवंशीलाई बाहिर राखेर बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाललाई मौका दिनसक्छ । ओमानको ब्याटिङ शीर्ष तीन ब्याटर कश्याप प्रजापति, जतिन्दर सिंह र कप्तान अकिब इलियासमा निर्भर छ । तीनै ब्याटर दायाँ हाते खेलाडी हुन् । रणनीतिक हिसाबमा बायाँ हाते बलर रिजन घातक बन्न सक्छन् ।

पछिल्लो खेलमा ओपनर कश्याप र जतिन्दरले ७५ रनको साझेदारी गरेका थिए । सोमपाल र करणले नयाँ बलका साथ विकेट लिन संघर्ष गरेको हुँदा रिजनको सम्भावना देखिएको हो । कुशल मल्लको स्थानमा आएका आरिफ शेखले भने निरन्तरता पाउने देखिन्छ । आरिफले ओमानविरुद्ध ८८ बलमा ३५ रन बनाएका थिए । क्यानडाविरुद्ध ३३ बलमा १० रन बनाउदै आउट भएका थिए । टोलीमा अन्य परिवर्तनको सम्भावना भने कम छ ।

नेपालको सम्भावित प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल ।

 

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस