२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओलीबाट ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता

न्युयोर्क (अमेरिका) ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका छन् ।

महासभाको उक्त समटिको उद्घाटनसत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रष्टी काउन्सिलमा आयोजित छलफलसत्रको अध्यक्षता गरेका हुन् । यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलले महासभामा भाग लिएको थियो ।

प्रधानमन्त्री ओलीले आजै समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्ने तय भएको छ ।

 

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस