२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी ठगीमा रवि लामिछाने दोषी ठहर, कारवाहीका लागि सिफारिश

काठमाडौँ । सहकारीमार्फत आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ।

आइतबार दिउँसो २ बजेदेखि सोमबार बिहान ३ बजेसम्म बसेको समितिको बैठकले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेको एक सदस्यले जानकारी दिए। ‘रविजीलाई कानुनी कारबाहीका निम्ति सिफारिस गर्ने सहमति जुटेको छ’, उनले भने, ‘सहकारी बचत अपचलनमा होइन, सहकारी हुँदै गोर्खा मिडिया नेटवर्कमा गएको करोडौँ रकममा रविजी दोषी रहेको पुष्टि भएको हो।’

छानबिन समितिले पाएको कार्यादेशमा गोर्खा मिडिया प्रालीलाई जोड दिएर अध्ययन गर्न भनिएको थियो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले पनि गोर्खा मिडिया नेटवर्कबाटै रविलाई दोषी प्रमाणित गर्न सकिने सुझाव दिएका थिए।

संसदीय समितिले तयार पारेको झन्डै सात सय पृष्ठको प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै सोमबार (३१ भदौ) संसद्‌मा पेस गर्ने तयारी छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रतिवेदन तयार पार्न आइतबार दिउँसो २ बजेदेखि बसेको समितिको बैठक सोमबार बिहान ३ बजेसम्म चलेको थियो।

जति दोषी देखिएको छ, त्यहीअनुसार कारबाही सिफारिस गरिएको ती सदस्यले नेपालखबरलाई जानकारी दिए। नाम किटान गर्ने विषयमा समिति सदस्यहरूबीच विवाद भएकै कारण लम्बिएको ती सदस्यको भनाइ छ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस