२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गणेश बस्नेत पक्राउ गर्ने तयारी छैन, उजुरी परेकाले सोधपुछ मात्र गर्न लागिएको हो : साइबर ब्यूरो

२७ भदौ, काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई नेपाल प्रहरीले पक्राउ गर्न नखोजेको स्पष्ट पारेको छ । साइबर अपराधको कसुरमा उजुरी परेकाले सोधपुछका लागि मात्र पुगेको प्रहरीले बताएको छ । बस्नेत विरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उजुरी परेकाले सोधपुछका लागि पुगेको प्रहरीले पुष्टि गरेको छ । यद्यपी प्रहरीले यो जाहेरी लिन नपाउने तर्क नेपाल पत्रकार महासंघको छ । यो क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको मात्र रहेको कानूनी व्यवस्थालाई कुल्चिदै प्रहरी सोधपुछका लागि भएपनि पुग्न नपाउँने विज्ञहरुको समेत तर्क छ ।

यता ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले पनि बस्नेत विरुद्ध निवेदन परेकाले केही बुझ्न खोजेको बताए । ‘उहाँविरुद्ध उजुरी परेकाले बुझ्न खोजेका हौं । यसबारे उहाँलाई जानकारी समेत गराइएको छ । फोनमा सम्पर्क गर्दा उहाँले भोलि आउँछु भन्नुभएको छ’ अवस्थीले भने ।

अनुसन्धानकै क्रममा रहेकाले कसले के उजुरी हाल्यो भन्ने विषय सार्वजनिक गर्न नमिल्ने अवस्थीको भनाइ छ । उनले बस्नेतलाई पक्राउ गर्ने तयारी नभएको तर केही बुझ्न मात्रै खोजिएको दाबी गरे ।

यस्तै गणेश बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्‍दै नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर विरोध जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै समाचारको विषयलाई लिएर प्रहरीको साइबर व्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ संप्रेषित समाचारप्रति परेका उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको हो । काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ । महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

बस्नेत पक्राउ प्रयासको घटना प्रेस चौतारी नेपाल लगायतका सञ्चार सम्बद्ध संगठनहरुले कडा निन्दा गरेका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस