२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ममता काफ्ले बेपत्ता प्रकरण: निर्दोष सावित गराउन खोजिरहेका नरेशका वकिलको पक्षमा न्यायाधीशको निर्णयले संशय

काठमाडौं । अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको अवस्थाबारे अझै थाहा पाउन सकिरहेको छैन । उनको शव लुकाएको अभियोगमा पक्राउ उनका पति नरेश भट्टका अदालती प्रक्रियामा छन् । उनी थुनामा गएपनि नेपालबाट ममताकी आमा र दाजु अमेरिका पुगेका छन् । एक बर्षे बच्चाको हेरचाह गर्नका लागि उनीहरु अमेरिका पुगेका हुन् ।

पछिल्लो अदालतको सुनुवाईमा ममताका आमा र दाजुपनि अदालतमा उपस्थित थिए । घरकी सबैभन्दा प्यारी छोरी, बहिनी जिम्मा लगाएका जुवाईको हातमा हतकडी देख्दा उनीहरु स्तब्ध बनेका थिए । त्यही दिन ममताको पक्षका वकिलको भन्दा नरेशको पक्षमा न्यायाधीशले निर्णय लिँदा नेपाली समुदाय र ममताको परिवार झनै संशयीत बन्यो । नरेशका वकिलले ग्रान्ड जुरी रद्द गर्न माग गरी दायर गरिएको मोसन न्यायाधीशले स्वीकृत गरेका छन्।

बिहीबार भएको सुनुवाइका क्रममा ग्रान्ड जुरी रद्द गराउन दायर मोसन अदालतबाट स्वीकृत भएको त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन । योसँगै अब यो मुद्दामा ग्रान्ड जुरी राखिने छैन। यसअघि अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न नरेश पक्षबाट दायर गरिएको मोसन गत अगस्ट २९ मा अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको थियो। ग्रान्ड जुरी रद्द गरेर स्पिडी ट्रायल (द्रुत सुनुवाई) मा गएको छ । अमेरिकामा द्रुत सुनुवाईमा गइको मुद्दा ५ महिनाभित्र अन्तिम किनारा लागिसक्छ । त्यो अवधिसम्म सरकारी वकिलले प्रमाण ल्याउन नसके मुद्दा नै खारेज हुन्छ । नरेशका वकिल यो मुद्दा नै खारेज गराउन चाहान्छन् ।

तर ग्रान्ड जुरी रद्द गर्ने मोसन स्वीकृत भएकाले मुद्दा अझ छिटो प्रक्रियामा जानेछ। अब अर्को सुनुवाइ यही सेप्टेम्बर १६ का लागि तोकिएको छ। जनवरीको १६ लाई नै अन्तिम सुनुवाई तोक्ने विषयमा एकमत नहुँदा अब अन्तिम सुनुवाई मिति तोक्न सेप्टेम्बर १६ मा निर्णय हुनेछ । बिहीबार सुनुवाइमा नरेशलाई पनि अदालत उपस्थित गराइएको थियो। यसअघि गत अगस्ट २९ मा पनि नरेशलाई अदालत लगिएको थियो।

त्यस दिन नरेश पक्षले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्द गर्न प्रस्ताव गरेको थियो। यसलाई अदालतले स्वीकार गरेपछि मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा प्रवेश गरेको थियो। तर यो पनि बिहीबार रद्द गरिएको हो। अमेरिकाको भर्जिनियाअन्तर्गत मनासस पार्कस्थित घरबाटै जुलाई ३१ देखि बेपत्ता ममता काफ्ले अझै भेटिएकी छैनन्। उनलाई मारिसकिएको निष्कर्षमा पुगेको प्रहरीले उनको शव खोजी जारी राखेको छ।

आमा र दाजु नेपालबाट अमेरिका पुगे

अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । यस्तोमा १ वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेको माइती पक्षले अमेरिका जान खोजेको थियो ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । लगत्तै काफ्लेको माइती पक्षले नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरुसँग समेत भेट गरेका थिए । त्यसपछि उनीहरुले अमेरिका जाने प्रक्रिया थालेका थिए ।

भिसा लगायतका प्रक्रिया पूरा भएपछि उनीहरु अमेरिका पुगेका थिए । १२ कक्षा सकेपछि बैंग्लोरमा नर्सिङ पढिरहेका बेला सामाजिक सञ्जालमार्फत उनको कञ्चनपुरका नरेश भट्टसँग चिनजान भएको थियो । पछि उनीहरु प्रेम सम्बन्धमा जोडए, त्यसपछि २०७७ सालमा पनौतीमा धुमधामसँग नरेश र ममताबीच विवाह भएको थियो । विवाहको केही समयपछि ममता अमेरिका गएकी थिइन् ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस