२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडी, मासिक तलब २ लाख ५० हजार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको नेतृत्व सुम्पिने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रस्तावमा पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

उनी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन् । उनले २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गरेकी थिइन् । २०७८ माघ १८ मा उनी नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । त्रिचन्द्र क्याम्पसबाट भौतिकशास्त्रमा आईएस्सी र भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहावादबाट पहाडीले इन्जिनियरिङमा स्नातक गरेकी छन् भन् थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी थिइन् ।

टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो । पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आवहान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए ।

टेलिकमकी निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका थिए । टेलिकमबाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशी पनि टेलिकमको नेतृत्व सम्हाल्न इच्छुक देखिएका थिए ।

सरकार परिवर्तनको संघारमा तत्कालिन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित छनोट समितिले असार २०, २१ र २२ मा १६ उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । सो समितिले तीन जनाको नामसहित सर्टलिस्ट तयार गरेको थियो । त्यसमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा, टेलिकमकै निमित्त पहाडीसँगै विमल आचार्यको नाम सिफारिस गरिएको थियो । तिनै तीनमध्ये प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहाडीलाई नियुक्त गरेको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०८१ अनुसार एमडीको सेवा अविधि चार वर्षको हुन्छ । पारिश्रमिक मासिक २ लाख ५० हजार रुपैयाँ, घरभाडा मासिक ६० हजार, काठमाडौं उपत्यकामा घर भए २ वर्षमा १ महिनाको मासिक पारिश्रमिक बराबरको घर मर्मत खर्च, चाडपर्व खर्च वार्षिक एक महिनाको पारिश्रमिक बराबरको रकम, भ्रमण खर्च, अतिथि सत्कार खर्च उपलब्ध हुन्छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस