२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लुम्बिनीमा शुक्रबार प्रदेशभर र आइतबार ६ जिल्लामा सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले महिला व्रत बस्ने दिन शुक्रबार प्रदेशभर र आइतबार थारु पुरुष व्रत बस्ने दिन तराईका ६ जिल्लामा बिदा दिएको छ । हरितालिका तीजमा महिला व्रत बस्ने दिनको अवसरमा लुम्बिनी प्रदेशभर बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले जनाए ।

यसैबीच मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरुलाई असर गर्नेगरी विकृति भित्रिन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय तीज पर्वमा भित्रिन खोजेको विकृति विसंगति रोक्ने जिम्मेवारी सबैको भएको समेत बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा तीज पर्वको अवसरमा बुधवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीज संस्कृतिको जगेर्ना गरेर अघि बढ्नु सबैको कर्तब्य भएको बताएका हुन् । उनले मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भित्रिन खोजेको विकृति विसंगतिलाई रोक्नेगरी पर्व मनाउन आग्रह गरेका छन् । ‘तीजलाई भड्किलो बनाउन खोजिएको छ ।

विकृतिले घेर्न थालेको छ’उनले भने,‘भड्किलो तिजलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो । यसतर्फ पनि हामीले ध्यान दिनुपर्ने छ ।’ शुभकामना आदानप्रदान कार्यक्रममा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुखसचिव महादेव पन्थ, मन्त्रालयका सचिवलगायत कर्मचारीहरुको सहभागिता थियो ।

यसैगरी, लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस बर्ष भदौ २३ गते आइतबार परेको छ ।

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

आइतवार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । आइतवारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रंकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको मान्यता छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस