२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज यी स्थानमा भारी बर्षा: कहिले हुँदैछ मनसुन निष्कृय – यसो भन्छन् मौसमविद्

Heavy rain in Chitwan

१९ भदौ, काठमाडौं । आज दिउँसो कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिमा भने कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ र अहिले नेपालभर आंशिकदेखि साधारणतया बदली छ । महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार अहिले वर्षा गराउने बादल लुम्बिनी प्रदेशतिर एकत्रित भइरहेको छ ।

बंगालको खाडिमा विकसित चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आउँदा भदौ १६ गते देशभर झरी परेको थियो । अहिले त्यो निष्कृय भइसकेकाले नेपालमा अहिले असर छैन । तर मनसुनी वायुको असर कायमै रहेकाले वर्षा हुने क्रम भने जारी छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल र तिब्बत तर्फबाट आएको बादलले गर्दा नेपालमा दुई दिन अघि मनसुन झनै सक्रिय भएको थियो । दुई दिन अघिको जस्तो अवस्था अहिले छैन । तर मनसुनको असर भने कायमै छ ।’

मौसमविदका अनुसार मनसुनको प्रकृति नै दिउँसो १२ बजेपछि सक्रिय हुने र रातिमा सक्रियता झन् बढ्ने हुन्छ । अहिले पनि अवस्था त्यस्तै छ । मंगलबार बेलुकीदेखि रातिसम्म वर्षा भएको थियो ।

मंगलबार बेलुकी काठमाडौं उपत्यकामा पनि भारी वर्षासँगै आएको बाढीले विष्णुमती नदीको बाढीले खतरा तह पार गरेको थियो । बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएको थियो । आज बिहान साढे ६ बजेतिर भने देशभर वर्षा भएको नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुई सातापछि निष्कृय हुनेछ मनसुन

तर मनसुन बहिर्गमनको सरदर मिति अक्टुबर २ तारिख भएकाले वर्षा हुन्छ भनेर पूर्वानुमान गर्नुपर्ने मौसमविद मानन्धरले बताइन् । सामान्यतया सेप्टेम्बर तेस्रो सातापछि भने मनसुनी गतिविधि कम हुँदै जान्छ । ‘अहिले हामी बल्ल सेप्टेम्बरको पहिलो सातामा छौं । त्यसैले अझै दुई सातासम्म वर्षाको सम्भावना कायमै हुन्छ भन्नुपर्छ,’ उनले भनिन् । यस वर्षको मनसुन गत जेठ २८ गते नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस