२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भगवान इन्द्रको वज्र, विष्णु भगवानको सुदर्शन चक्र र शिव भगवानको त्रिशुलजस्तै शक्तिशाली कुश

वज्रपाणि श्रेष्ठ
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
कुश हामी वैदिक सनातनीहरूलाई मात्र नभई कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्व भएको बहुउपयोगी वनस्पति हो । देवकार्य होस् या पितृकार्य जन्मदेखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्व रहेको छ र वर्तमान समयमा पनि वैज्ञानिकहरूले अनुसन्धान गरी सो तथ्यलाई स्वीकारेका छन् ।
यथा वज्रं सुरेन्द्रस्य, यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य, तथाविप्रपवित्रकम् ।।

उपर्युक्त श्लोकबाट स्पष्ट हुन्छ कि कुश स्वर्गका राजा इन्द्रको वज्र, विष्णु भगवानको सुदर्शन चक्र र शिव भगवानको त्रिशुलजस्तै शक्तिशाली छ । यस्तो पवित्र कुश लगाए सबै खालको रिस, राग, क्रोध, संवेग तथा आवेग नियन्त्रित हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । वैदिक साहित्यमा परापूर्व कालदेखि नै कुशको वर्णन अनेकौँ स्थानमा गरिएको पाइन्छ । विष्णुको प्रतीक मानिने कुशलाई श्रीमद्भागवद् गीता, गरुड पुराण, अथर्व वेद आदिमा क्रोधनाशक र अशुभनिवारक वस्तुको रूपमा व्याख्या गरिएको छ ।
जब कुनै व्यक्तिको जन्म कुण्डलीमा राहुको महादशा या राहु ग्रहको नराम्रो प्रभाव परेको हुन्छ त्यस अवस्थामा कुशपानीले स्नान गर्नु र कुशको हवन गर्नाले फाइदा हुने र राहु ग्रहको नकारात्मक प्रभाव समाप्त भई सकारात्मक ऊर्जा मिल्ने बताइन्छ । हवन तथा यज्ञादि कार्यमा पनि कुश बिछ्याउने परम्परा वैदिक कालदेखि नै चलिआएको छ । त्यसैगरी, देवकार्य होस् या पितृकार्यमा कुशद्वारा निर्मित पवित्र अर्थात् कुशको औँठी औँलामा लगाउने र कम्मरमा सिउरने धार्मिक विधिसमेत रहेको छ । अघि पछि उखेलेको कुश एकदिन, कुशे औँशीको दिन उखलेको कुश एक वर्ष र कुशे औँशीको दिन सोमबार (सोमबारे औँशी) पर्न गएमा १२ वर्षसम्म कुश काम लाग्ने अर्थात् ऊर्जा शक्तिले पूर्ण हुने शास्त्रीय वचन रहेको छ ।

धार्मिक मान्यताअनुसार मान्छे मर्ने बेलामा या पार्थिव शरीरलाई कुशकै बिछ्यौनामा सुताउने गरिन्छ । यदि कुनै व्यक्तिको मृत्यु पञ्चक अर्थात् धनिष्ठा, शतभिषा, पूर्वभाद्रा, उत्तरभाद्रा र रेवती नक्षत्रमा भएको भए भवितव्यमा हुने अनिष्टबाट बच्न कुशकै ५ वटा पुत्ला बनाई मसानघाटमै जलाउने प्रचलन रहेको छ । हराएको मान्छे अब जिउँदो छैन भन्ने लाग्यो भने कुशकै पुत्ला बनाएर अन्त्येष्टि गर्ने प्रचलन पनि रहेको छ, किनकि कुशमा अनिष्ट शक्तिलाई नाश गर्ने क्षमता मिल्ने भएकोले कुशकै पुत्ला बनाएर अन्त्येष्टि गर्ने गरिन्छ ।

ज्योतिष शास्त्रअनुसार राहु ग्रहको नकारात्मक ऊर्जालाई हाम्रो शरीरबाट हटाउन कुशपानीले ठूलो मद्दत गर्दछ, राहु ग्रह लागेका या राहु हाबी भएका व्यक्तिहरूको लागि पनि कुश ज्यादै उपयोगी छ । राहु ग्रहको महादशा अन्तर्दशा या प्रत्यान्तर दशा भएका व्यक्तिहरूले कुशको प्रयोग या हवन गरेर राहुको नकारात्मक ऊर्जाबाट बच्न सकिन्छ ।

आयुर्वेदमा पनि यसको निकै ठूलो महत्व रहेको छ तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा ऊध्र्वगमन र अधोगमन (जष्नज ७ यिध), पत्थरीमा, अल्सर, रक्तप्रद, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने र कुशासनमा बस्दा नशाघात, पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता डरलाग्दा रोगको आक्रमण रोक्ने सामथ्र्य कुशमै रहेको छ र अन्य विविध प्रकारका रोगहरूलाई नियन्त्रण तथा निर्मूल पार्न सक्ने क्षमता कुशमा रहेको छ भनेर आयुर्वेदमा उल्लेख गरिएको छ ।

हामीले जुनसुकै देवकार्य या पितृकार्य गर्दा, वेदका मंत्र या श्लोकहरू पाठ गर्दा हाम्रो शरीरबाट एकप्रकारको ऊर्जा निस्किरहेको हुन्छ र त्यो ऊर्जालाई संरक्षण गरी सकारात्मकरूपमा परिचालन गर्नको लागि कुशले एकदमै महत्वपूर्ण भूमिका खेल्दछ । यदि हामीले कुशको आसन र शिरमा पनि कुश राखेर वैदिक मन्त्र, जप, तप, पाठ आदि ग¥यौँ भने हाम्रो ऊर्जा अन्यत्र नगई आफ्नै शरीरमा निहित हुनाले हामीलाई आफूले गरेको कार्यबाट अझै बढी सकारात्मक ऊर्जा प्राप्त भई सत् बुद्धि र विचार आदिको विकास हुन्छ ।

आध्यात्मिक र सञ्चित शक्तिलाई जहिले पनि नेगेटिभ ऊर्जाले व्याप्त पार्न सक्दछ, त्यसैले हाम्रो वरिपरिका एन्टी रेडियसनबाट बचाउन कुशलाई लगाउने, राख्ने, ओछ्याउने र शुद्ध पार्ने जस्ता कामको लागि उपयोगी गर्ने गरिन्छ । यस्ता नकारात्मक प्रवाह र नेगेटिभ ऊर्जा विशेषगरी हाम्रो हात, गोडा र शिरबाट हाम्रो शरीरमा व्याप्त हुने हुनाले गर्दा कुशका पवित्र, औँठी, मणिबन्ध, यज्ञोपवीत आदि बनाएर ग्रहण गर्ने गरिन्छ । वैज्ञानिक दृष्टिले पनि यो कुरा सिद्ध हुन्छ कि कुशद्वारा निर्मित गुन्द्री वा चकटीमा नियमित बस्नाले उच्च रक्तचापजस्ता धेरै बिरामीलाई निकै लाभ हुने वैज्ञानिकहरूको तर्क छ ।

कुशलाई विकिरणहरूको माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहरूलाई आफ्नो शक्तिद्वारा परिवर्तित गरेको पाइयो । सम्पूर्ण वायुमण्डलमा रहेका विकिरणहरूलाई निस्तेज गर्नसक्ने क्षमता कुशमा मात्रै ६० प्रतिशत रहेको वैज्ञानिकहरूको भनाइ छ । वर्तमान समयमा हामीले प्रयोग गर्ने विभिन्न प्रकारका इलेक्ट्रोनिकवस्तु, घडी, मोबाइल, कम्प्युटरलगायतका अन्य प्राविधिक, टेक्निकललगायत विद्युतीय उपकरणहरूबाट निस्कने नकारात्मक ऊर्जालाई समाप्त पार्न र त्यसबाट बच्नको लागि वैज्ञानिक दृष्टिले पनि कुशको प्रयोग महत्वपूर्ण छ ।

यस्तो विशेष वनस्पति कुशलाई भरिसके काट्नु हुँदैन, कुशे औँशीको दिन उखेलेर घरमा राख्नाले मात्र पनि नकारात्मक ऊर्जा, तरङ्ग र विकिरणहरूलाई निस्तेज बनाउन मद्दत गर्दछ । त्यसैले, ग्रहण आदिमा खानेकुराहरूलाई शुद्ध बनाई राख्न र नकारात्मक ऊर्जाहरूबाट जोगिन हामीले ग्रहणको समयमा खानेकुराहरूमा कुश राखेर शुद्ध पार्ने गरिन्छ । आगामी दिनहरूमा हामीले कुशलाई घरमा राखेमात्र होइन कुशको महत्व र गुण हाम्रो भावी सन्ततिहरूलाई यसबारे सोध संरक्षण र उपयोग गर्न उत्प्रेरित गर्नुपर्दछ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस