२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इसेवाबाट २ लाखसम्म घरमै बसेर ऋण लिन सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । डिजिटल वालेट इसेवाले ‘ईजीलोन’ (EasyLoan) सेवा ल्याएको छ । पहिलो चरणमा इसेवा एजेन्टका लागि उपलब्ध यो सेवाबाट अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले व्यावसायिक कर्जाका रूपमा परिभाषित गरेको छ ।

साना व्यवसायीका लागि उपयोगी

व्यवसायको दाैरान दैनिक क्रियाकलापहरूमा आकस्मिक खर्चहरू आउन सक्छन् । त्यस्ता खर्चको व्यवस्थापन गर्न बैंक वा अन्य वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया लामो र झन्झटिलो हुनसक्छ । यस्तो प्रक्रियामा कागजी प्रक्रिया पनि धेरै हुन्छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै इसेवाले आफ्ना एजेन्टहरूलाई सरल र छिटो ऋण प्राप्त गर्न सक्ने सुविधाको रुपमा ‘ईजीलोन’ ल्याएको हो । यसले इसेवा एजेन्टहरूलाई झन्झटिलो प्रक्रियाबाट बचाउँदै डिजिटल वालेटमार्फत केही सेकेन्डमै ऋण उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

इसेवा लिमिटेडले नेपालभर डिजिटल भुक्तानीका लागि विभिन्न व्यावसायिक संस्थाहरूलाई इसेवा एजेन्टका रूपमा नियुक्त गरेको छ । नेपालमा हाल यस्ता एजेन्टको सङ्ख्या साढे दुई लाख बढी छ । ‘ईजीलोन’को सुरुवातसँगै ​साना व्यवसायीहरूका लागि आकस्मिक कोष जुटाउने एक विकल्प तयार भएको इसेवाले जनाएको छ ।

कस्ता इसेवा एजेन्टले पाउँछन् ऋण ?

इसेवामा केवाईसी भेरिफाइड भएको हुनुपर्छ ।

  • स्थायी लेखा नम्बर (प्यान) र व्यवसाय दर्ता प्रमाणपत्र हुनुपर्छ ।
  • इसेवामा कम्तीमा ६ महिनादेखि सक्रिय हुनुपर्छ ।
  • इन्टरनेसनल र डोमेस्टिक टिकेटिङमा सहभागी भएको हुनु पर्नेछ ।
  • टप-अप सहित युटिलिटी सेवा नियमित प्रयोग गरेको हुनुपर्छ ।

पेमेन्ट ट्रान्जेक्सन संख्या, ग्राहकबाट आएको आयको योगदान, एजेन्टले ह्यान्डल गरेको कुल ट्रान्जेक्सन भोल्युम आदिका आधारमा अधिकतम दुई लाख रुपैयाँसम्म ऋण प्रवाह हुने तथा ऋण वितरणपछि ईएमआई सेटलमेन्टको निगरानी गरिने कम्पनीले जनाएको छ ।

‘ईजीलोन’ कसरी प्राप्त गर्ने ?

इसेवा एपमा लगइन गरी आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । अब त्यहाँ भएको ‘agent services’ मा जानुहोस् । अनि ‘easyloan’ मा ट्याप गरी ‘Available Loan’ को तल फेरि ‘easyloan’ मा थिच्नुहोस् ।

शुल्क विवरण

  • न्यूनतम ऋण: ५० हजार रुपैयाँ
  • अधिकतम ऋण: दुई लाख रुपैयाँ
  • अधिकतम ब्याजदर: वार्षिक १८ प्रतिशत
  • पेनल ब्याज: दुई प्रतिशत
  • सेवाशुल्क: ० .७५ प्रतिशत

यदि आर्थिक कारणले तपाईँको सानोतिनो काम अड्किएको छ भने इसेवाले दिएको यो सुविधाको लागि आवेदन दिई आफ्नो काम पुरा गर्न सक्नुहुन्छ । उक्त रकम तपाईँको आफ्नै इसेवा अकाउन्टमा जम्मा हुन्छ । थप जानकारीको तपाईँले इसेवालाई नै सम्पर्क गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस