२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमए पढिरहेका झलनाथ खनाल अध्ययन विदामा

१६ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल एमए पढिरहेको खुल्न आएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत बिहीबार केन्द्रीय समिति बैठकमा अनुपस्थितीको कारण खुलाउँदा खनाल अध्ययन बिदामा रहेको खुलाए ।

देवशंकर पौडेल, तहलबहादुर खड्का सहित २० जना केन्द्रीय सदस्य अनुपस्थित रहेको अध्यक्ष नेपालले बताइरहँदा पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनाल पनि बैठकमा थिएनन् । नेपालले खनालको अनुपस्थितिबारे पनि बताए । ‘सम्मानित नेता झलनाथ खनाल व्यक्तिगत कामका लागि बिदामा हुनुहुन्छ’ अध्यक्ष नेपालले भनेका थिए । त्यसबाहेक त्यहाँ थप कुरा भएनन् । पछि सोध्दा अध्ययन बिदामा रहेको बताए ।

केन्द्रीय समिति बैठक उद्घाटन समारोहमा चाहिँ पुर्वप्रधानमन्त्री खनालले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले पदाधिकारी र पोलिटब्यूरो सर्वसहमत गर्नुपर्ने मत राखेका थिए । यद्यपि मतदानबाट पदाधिकारी चुनिए । त्यसैले केन्द्रीय समिति बैठकमा मात्र नभएर मतदानकै क्रममा पनि खनालको खोजी स्वभाविक थियो । ‘पदाधिकारी र पोलिटब्यूरो जस्तो पार्टीको शीर्ष संरचनामा उहाँको खोजी हुनु स्वभाविक हो । तर यसप्रति खासै चासो दिनुभएन’ एक नेताले भने, ‘खासमा उहाँको अहिले पढाइ चलिरहेको रहेछ । त्यसैले बैठक समापन अघि नै अध्ययन बिदा लिनुभयो ।’

अर्का एक शीर्ष नेताले पनि पूर्वप्रधानमन्त्री खनाल आफ्नो पढाइकै कारणले विदामा बसेको पुष्टि गरे । ‘१० दिनको बिदा लिनुभएको छ । तीन दिन सकियो, अब एक हप्ता बाँकी छ’, ती नेताले भने । खनाल निकट स्रोतले पनि अध्ययनकै लागि बिदा लिएको बताए । ‘बौद्ध दर्शनमा एमए गरिरहनुभएको छ । त्यसको प्राक्टिकलमा मेडिटेशन हुँदो रहेंछ’ ती स्रोतले भन्यो, ‘मेडिटेसनमा जानकै लागि पार्टीबाट बिदा लिनुभएको हो ।’ उनका अनुसार, खनालले लुम्बिनी विश्वविद्यालयबाट एमए गर्दैछन् । ७४ वर्षीय पूर्वप्रधानमन्त्री खनालले चार दशकभन्दा अगाडि विज्ञानमा स्नातक गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस