२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फोनमा ‘जहाँबाट ल्याएको थिइस् त्यहीँ लगेर मार’ भनेको भाइले सुने, होटलमा भेटियो एलिशाको शव

काठमाडौं । गत सोमबार (भदौ १० गते) हेटौंडा–१० स्थित रत्ना होटलमा एलिशा न्यौपाने मृत भेटिइन्। २३ वर्षकी युवती होटलको कोठामा मृत भेटिएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भए। परपुरुषसँग होटलको कोठासम्म पुग्ने केटीलाई यस्तै हुनपर्छ, भन्नेसम्मका अभिव्यक्तिहरूले सामाजिक सञ्जालको भित्ता भरियो।

तर एलिशाको हत्या कोही परपुरुषले नभई उनकै श्रीमान्ले गरेको खुल्न आएको छ। हेटौंडा–१ भैरवडाँडा घर भएकी एलिशाकी आमा उनी सानै हुँदा अर्को विवाह गरेर गइन्। त्यतिबेला एलिशा ९ वर्षकी थिइन्। उनका भाइ एलिश त्यस्तै ६ वर्ष जति उमेरका थिए। बुवा किरण न्यौपाने अत्यधिक मादक पदार्थ सेवन गर्थे।

आमाले अर्को विवाह गरेपनि बावु किरणले भने अर्को विवाह गरेनन्। घरमा हजुरबुवा र हजुरआमासँगै बस्दै आएकोमा केही वर्षअघि हजुरबुवा र हजुरआमा दुवैजना बिते। करिब ६ वर्षअघि एलिशाका बुवा किरणको पनि मृत्यु भयो। घरमा हेरचाह गर्ने अभिभावक नभएपछि एलिशा हेटौंडा–११ नवलपुरमा फुपूको घरमा बसेर पढ्न थालिन्। उनका भाइ एलिश भने अनाथालयमा बसे।

फुपूको घरमा बसेकी एलिशाले कक्षा ९ सम्म पढिन्। त्यो भन्दा माथि पढ्न मन नगरेको उनका फुपाजु गणेश खत्री बताउँछन्। पढाइ बीचमै छोडेकी एलिशाले ५ वर्षअघि अर्थात २०७६ सालमा हेटौंडा–४ कमलडाँडा घर भएका समीर खानसँग प्रेम विवाह गरेको खत्रीको भनाइ छ। अन्तरजातीय विवाह गरेकी एलिशाले समीरको घरमा जेठी श्रीमती पनि रहेको कुरा केही समय पछि मात्रै थाहा पाइन्। कान्छी श्रीमतीको रुपमा एलिशासँग विवाह गरेका समीरले उनलाई घरमा नराखेर बाहिर नै कोठा खोजेर राख्दै आएका थिए।

केही समय पोखरा बसेकी एलिशा बीचमा ३ महिना दुवई पनि गएको पारिवारिक स्रोत बताउँछ। दुवई छँदा समीरले नै फोन गर्दै आइहाल्न भनेपछि फर्किएकी थिइन्। त्यसपछि उनी काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। समीर पनि एलिशासँगै कहिले काठमाडौं बस्थे त कहिले हेटौंडा घर आउजाउ गरिरहन्थे।

काठमाडौंमा बस्दै आएकी एलिशालाई समीरले बोलाएपछि भदौ ९ गते आइतबार हेटौंडा आएकी थिइन्। एलिशाको पारिवारिक स्रोतका अनुसार समीरले एलिशालाई पहिलोपटक आफ्नो घर लगेका थिए। घरमै गएको भन्ने कुरा मृतक एलिशाका भाइ एलिशले फोन गरेपछि पत्ता लागेको हो।

‘मैले दिदीलाई फोन गरेको थिएँ। त्यो बेला घरमा झगडा परिरहेको जस्तो आवाज आयो। दिदीले बोल्नै भ्याउनुभएन। फोन उठाएर छोडिदिनुभयो’ एलिशले भने, ‘ मैले आत्तिएर फोन रेकर्डमा राखेँ। त्यो रेकर्डमा एकजना महिलाले ‘जहाँबाट ल्याएको थिइस् त्यहीँ लगेर मार’ भनेको सुनिन्छ।’

त्यसपछि उनले दिदीको बारेमा जति बुझ्न खोजेपनि पत्ता लगाउन सकेका थिएनन्। एलिशले आफ्नो दिदीको हत्या भएको तब थाहा पाए, जब होटलमा मृत अवस्थामा शव भेटिएको हल्ला फैलियो। होटलबाट भाग्दै गरेको दृश्य कैद भएको सीसीटीभी फुटेजमा समीर नै भएको एलिशाका आफन्तको दाबी छ। घटनापछि प्रहरीले समीरलाई खोज्दै गर्दा पनि समीरले एलिशलाई म्यासेज पठाएका थिए। त्यसमा यस्तो लेखेका छन्, ‘मैले तिम्रो दिदीलाई अञ्जानमै मारेँ। मलाई माफ गरिदेउ। म सजाय भोग्न तयार छु।’

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या आंशकामा समीरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए। समीरका आमा, बुवा र जेठी श्रीमतीलाई हिरासतमा राखेको छ। एलिशाको शव चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पोष्टमार्टम गरिएको छ। डीएसपी भण्डारीका अनुसार पोष्टमार्टको काम सकिए पनि अस्पताल प्रशासनले रिर्पोट सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान तथा खोजी भैरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस