२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी युद्धकालकै बम विस्फोटले लियो अवोध दाजुबहिनीको ज्यान, खेलौना सम्झेर खेल्दै थिए

विराटनगर । पाँचथरको फलेलुंग गाउँपालिका वडा नम्बर ५ प्राङवुङको डाडागाउँका दिलीप साँवा वैदेशिक रोजगारीका लागि दुवइमा छन् । उनकी श्रीमती पूजा बिहीबार मेला गइन् । छोरो दिप्सन साँवा विद्यालय गए । विद्यालयमा परीक्षा भएका कारण उनी छिट्टै फर्किए । घरमा सानी अढाई वर्षकी बहिनी प्रिन्सा थिइन् । स्कुलबाट फर्किएपछि उनी बहिनीलाई लिएर साथी पवन राईको घर गए । पवनको घर र दिप्सनको घर भन्दा ४ मिनेटको दूरीमा पर्छ ।

पवनकै घरमा उनीहरूका साथी दिप्सन राई पनि भेला भए । पवनका बुबा ज्ञानबहादुर राई ज्याला मजदुरी गर्छन् । उनी काम गर्न पाँचथरको सदरमुकाम फिदिम झरेका छन् । बिहीबार केटाकेटी घरमा भेला भएपछि पवनकी आमा बारीमा काम गर्न गइन् ।

खेल्ने क्रममा उनीहरूले पवनको घरको दाइने पट्टी बल जस्तो बस्तु भेट्टाए । फलेलुंग गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भरत कुमार खपांंगीले भने, ‘बल जस्तो बस्तु खेलाउँदा विस्फोट भएर साँवाका छोराछोरीकै मृत्यु भयो । पवन र दिप्सन राई घाइते भएका छन् ।’

विस्फोटमा परि घाइते भएका पवन राईले खपांगीलाई बताए अनुसार अनौठो वस्तु फेला पारेपछि उनीहरूले त्यसलाई फुटाउन खोजे । ढुङ्गाले हान्दा पनि नफुटेपछि उनीहरूले हतौडाले हाने । हतौडा दिप्सनले हानेका थिए । उनको छेउमै थिइन उनकी बहिनी ।

वडाध्यक्ष खपांगीले हतौडाले अनौठो बस्तुमा हान्ने दिप्सन र उनकी बहिनी प्रिन्साको मृत्यु भएको छ । पवन र दिप्सन घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । बम विस्फोट भएको घर भने आइतराज केरुङको हो । उनी माओवादीको फालेलुंग गाउँ स्तरीय नेता हुन् । माओवादीको स्थानीय गाउँ सङ्गठनमा काम गरेका आइतराज भने व्यापारका लागि फिदिम बजार आएका छन् ।

व्यापारका लागि आइतराज फिदिम आएपछि खाली भएको ज्ञानबहादुरको परिवार बस्दै आएको छ । ज्ञानबहादुरलाई केरुङले घर राख्न राखेको वडाध्यक्ष खापुंगले बताए ।

द्वन्द्वकै बेलाको हतियार
पाँचथरको फालेलुंगमा विस्फोट भएको बम द्वन्द्वकालकै बेलामा छुटेको हुन सक्ने सुरक्षाकर्मीले अनुमान गरेको छ । विस्फोटक भएको बम घरमै बनाइएको हो । यो मेसिन मेड होइन । प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले भने, ‘हेर्दा पुरानो छ । खिया लागेको छ । यो पुरानो हतियार हो ।’

उनले सकेटहरू प्रयोग गरेर घरमा बनाएको हतियार भएको बताए । उनले द्वन्द्वका बेला छुटेको हुन सक्ने बताए । बम विस्फोट भएपछि खोजतलास गर्दा सोही ठाउँमा अर्को पनि शङ्कास्पद बस्तु फला परेको दाहालले बताए । अहिले सो बस्तु डिस्पोज गर्न नेपाली सेनाको प्राविधिक टोली पुगेको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले पुरानो द्वन्द्वकालकै विस्फोटक भएको बताए । उनले भने, ‘अहिले सम्म यो नयाँ हो भन्ने पुष्टि भएको छैन ।’

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस