२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओलीविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा थप एक जना प्रहरीको नियन्त्रणमा

Goura Tudikhel

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले कन्चनपुरका दीपक सिंह ठगुन्नालाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो ।

सार्वजनिक शान्ति विरूद्धको कसुरमा उनलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । यसअघि प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइसकेको छ।

गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै उनीहरूले कार्यक्रम बिथोल्न खोजेको आरोप छ। कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

गौरा पर्वको कार्यक्रममा सहभागी युवाहरूले प्रधानमन्त्री ओलीको नाम लिएर नाराबाजी गरेका थिए। नाराबाजीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको थियो ।

साथै कांग्रेस सभापति देउवाले दर्शकदीर्घाबाट हो–हल्ला भएपछि गौरा पर्वको कार्यक्रम विथोल्न खोजिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । ‘तपाईंहरू जति कराउनुछ कराउनुस्। लाज पनि छैन । गौरा पर्वको कार्यक्रम विथोल्ने ? यही हो नेपालको चलन ? बदमासहरू,’ देउवाले मञ्चबाट नै भन्नुभएको थियो । धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आउनुभएको थियो तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्ने देउवाले बताउनुभएको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस