२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर बालेन शाह सत्य साबित : चौधरी समूहले नै स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी

काठमाडौं । चौधरी समूहले आफ्नो कम्पनीबाट उत्पादन भएको वाइवाइ चाउचाउको गुणस्तरमा भएको कमजोरी स्वीकार गरेको छ । केही समय अघि राज्यको अनुगमन गर्ने निकायले अखाद्य रहेको पुष्टि समेत गरेको थियो ।

चाउचाउमा देखिएको कमजोरीबारे काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्दै सीजी फुड्स नेपाल ललितपुरले गुणस्तरहीन त्यस्ता चाउचाउ बजारबाट फिर्ता ल्याएको र नष्ट गरेको जानकारी गराएको हो । केही समयअघि आएको पत्र बुझेका महानगरका एक अधिकारीले अहिले सीजीले उक्त चाउचाउ नष्ट गरेको जानकारी दिएको खुलाउनुभएको छ ।

‘सीजीले आफ्नो चाउचाउको गुणस्तरमा भएको कमजोरी स्वीकार गरेको छ,’ महानगरका ति अधिकारीले भन्नुभयो, ‘बजारबाट ८ सय ६९ कार्टुन चाउचाउ फिर्ता ल्याएर नष्ट गर्ने प्रक्रिया सुरु भएको महानगरलाई जानकारी गराएको छ । ति चाउचाउ नष्ट भइसक्यो भन्ने छ ।’

चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले उत्पादन गर्ने चिकेन फ्लेभरको वाइवाइ चाउचाउ ब्याच कोड एएलरवाइएल २३, सीएचएआई, २०८० को चाउचाउ बजार अनुगमनमा गुणस्तरहीन पाइएको महानगरले पत्ता लगाएको थियो । ‘श्रीमान् समक्ष यो जानकारी गराउन चाहन्छु कि ब्याच कोड एएलरवाइएल २३, सीएचएआई, २०८० को गुनासो प्राप्त भएको चाउचाउ डिलर मार्फत ८६९ कार्टुन भैँसेपाटीस्थित चाउचाउ कारखानामा फिर्ता ल्याइसकेको र चाउचाउलाई नष्ट गर्ने प्रकृयामा लागिसकेको व्यहोरा जानकारी गराउँदछौँ,’ सीजी फुड्सका प्रबन्धक रबिन्द्र तुलाधरले महानगरलाई लेखेको पत्रमा उल्लेख छ ।

चौधरी समूहले पत्रमार्फत महानगरलाई चाउचाउमा कैफियत देखिनुमा आफ्नो प्रविधिले राम्रोसँग काम नगरेको र चाउचाउ फ्राइ गर्ने तेलको तापक्रम बढेको स्वीकार गरेको छ । साथै उसले चाउचाउमा ट्वीन प्याकेटबाट मसला चुहिएको र त्यसले ढुसी जस्तो देखिएको हुनसक्ने बताएको छ । यद्यपी विज्ञहरुले योपनि झुट्टा जवाफ दिएको दाबी गरेका छन् । अखाद्य उत्पादनका कारण नै ढुसी आएको हो । मसला चुहिएर हुन सक्दैन एक विज्ञले भन्नुभयो ।

‘चाउचाउको रङ्ग गाडा हुनुमा ‘टेम्प्रेचर प्रोब’ ले सही समयमा सही तापक्रम नदेखाउँदा चाउचाउ थोरै गाढा रङ्गको हुन गएको, तेलको तापक्रम बढेको र सीसोनिङ ट्वीन प्याकेटबाट मसला चाउचाउको केकमा पोखिएको हुँदा ढुसी लागेको जस्तो देखिएको छ,’ सीजी फुड्सले चाउचाउको गुणस्तर फेल हुनुको कारणबारे पत्रमा भनेको छ । साथै, उसले गुणस्तर सुधारका लागि प्यारामिटर मापदण्डलाई कडाईका साथ पालना गर्ने, तेलको तापक्रम मात्रै नभई तेलको गुणस्तरलाई नै उच्च प्राथमिकतामा राख्ने र चाउचाउको गुणस्तरमा शङ्का लागे तत्काल निर्णय गरी गुणस्तरहीन चाउचाउ उपभोक्तासम्म पुग्न रोकिने प्रतिबद्धता पनि महानगर समक्ष गरेको छ ।

२०८१ वैशाख १२ गते महानगरले चौधरी समूह अन्तर्गतको सीजी फुड्सलाई न्यून गुणस्तरको वाइवाइ चाउचाउ उत्पादन गरेको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेर सो ब्याचको उत्पादन बजारबाट फिर्ता लैजान निर्देशन दिएको थियो । गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु नेपाल राजपत्रको गुणस्तर भन्दा अधिक रहेको पाइएको थियो ।

चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएको महानगरको बजार अनुगमन समितिले गरेको गुणस्तर जाँचमा पुष्टी भएको थियो । त्यसको भोलिपल्टै सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हचुवाको भरमा वाइवाइ चाउचाउको गुणस्तरबारे गलत हल्ला फिजाएर लगानीको वातावरण बिगारेको आरोप लगाउनुभएको थियो । त्यसको प्रतिवाद गर्दै महानगरका मेयर बालेन्द्र शाहले ल्याब रिपोर्टका आधारमा आफूहरुले वाइवाइलाई कारबाही गरेको बताउनुभएको थियो । तर, अहिले वाइवाइ आफैँले आफ्नो गुणस्तरमा रहेको कमजोरी स्वीकार गरेर सुधार गर्ने प्रतिबद्धता जनाएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस