२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नर्स ममता बेपत्तापछि नरेशले श्रीमती मृत्युको कति समयपछि बिहे गर्न मिल्छ भनेर गुगलमा खोजेका थिए

११ भदौ, काठमाडौं । अमेरिकाको भर्जिनियाबाट नर्स ममता काफ्ले बेपत्ता हुनु महिनाअघि उनका श्रीमान् नरेश भट्टले गुगलमा ‘श्रीमतीको मृत्युको कति समयपछि विहे गर्न सकिन्छ’ ? भनेर गुगलमा खोजेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका नरेशलाई अदालतमा उपस्थित गराएका बेला सरकारी पक्षका वकिलहरुले उनले कम्प्युटरबाट त्यसबारे गुगलमा खोजी गरेको जिकिर गरेका हुन् । अमेरिकाको द वासिङ्टन पोस्टले लेखेअनुसार, वकिलहरुले ममताका साथीहरुले उनलाई घरमा श्रीमानबाट हिंसा हुने गरेको बयान दिएको पनि बताएका छन् । मनसास पार्क प्रहरीले भट्टको घरमा छापा पार्दा ममता मारिएको हुनसक्ने संकेतहरु फेला परेको वकिलहरुले भनेका छन् ।

छापा मारेको भोलिपल्ट ७ भदौमा मनसास पार्क प्रहरीले नरेशलाई घरबाटै पक्राउ गरेको थियो । उनलाई नियन्त्रणमा लिँदा प्रहरी अधिकृतहरुले घरको कार्पेट पनि निकालेर फरेन्सिक भ्यानमा हालेका थिए । प्रहरीले अन्तिममा घरमा रगतको ट्रेस खोज्नलाई ब्लूस्टार प्रविधि प्रयोग गरेको थियो । यसबाट आखाँले देख्न नसकिने रगतको टाटाहरु पनि देख्न सकिन्छ । ममता काफ्ले गएको १५ साउनमा मनसास पार्कबाट बेपत्ता भएकी थिइन् । त्यसपछि अमेरिकाको नेपाली समुदाय र स्थानीय प्रहरीले उनको खोजीलाई तीव्र बनाएको थियो ।

‘बेडरुम र बाथरुमको रगतको मात्राले जीवित नरहने खालको चोटको संकेत गर्छ’, अभियोजनकर्ता तर्फकी वकिल सारा सामीले अदालतमा भनेकी छन्, ‘यो घटनाको हरेक संकेत के हो भने ममता जीवित छैनन् र शरीर नभए पनि अदालतले हत्याको अभियोग लगाउन सक्छ । सोमबार उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने कि बाहिर राखेर भन्ने विषयमा अदालतमा बहस भएको थियो । त्यसमा अधिकांश समय भट्ट पक्षका वकिलले शरीर नभेटिई यस्तो अभियोग लगाइएको भन्दै छाड्नुपर्ने जिकिर गरेका थिए । भट्ट पक्षका वकिलले ममताको पक्षमा नागरिकस्तरबाट दबाब बढिरहेका बेला हतारमा पर्याप्त प्रमाणबिनै मुद्दा लगिएको जिकिर गरेका थिए ।’

 

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस