२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुग्लिन–आँबुखैरेनी सडक आज साढे ३ घण्टा बन्द

१० भदौ, गोरखा । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन । आज ठूला मेसिन उपकरणहरु प्रयोग गरी बस निकालिएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबीच सडक बन्द भएको यही मौकामा मुग्लिन–आँबुखैरेनी सडकखण्डमा पर्ने भित्तोका जोखिमपूर्ण चट्टानहरु काटेर फ्याँक्ने काम पनि हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । हाल मुग्लिन–आँबुखैरेनी सडकखण्ड बिस्तार र पहिरो नियन्त्रणको काम भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस