२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलेसियामा बाबुको मृत्यु भएको अढाई महिना इलामकी सोनुको कोरियामा मृत्यु, शव ल्याउन खर्च अभाव

इलाम । इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा मृत्यु भएको छ। पढाइ सिलसिलामा छ महिनाअघि कोरिया पुग्नुभएकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको खबर आएको परिवारजनले जनाएका छन्। गत फेब्रुअरीमा विद्यार्थी भिसामै कोरिया जानुभएकी श्रेष्ठ उल्सान विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्थ्यो । उहाँको शव उल्सान अस्पतालमा पोस्टमार्टम गरिएको छ। घर ल्याउने खर्च नहुँदा कोरियामा बस्ने नेपालीले खर्च उठाएर उहाँको शव ल्याउने पहल गरिरहनुभएको छ । कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज (सोनसिक) र त्यहाँस्थित इलामेली समाजले उहाँको शव ल्याउन खर्चको जोहो गरिरहनुभएको छ ।

कोरियास्थित नेपाल सम्पर्क समिति अध्यक्ष हरिप्रसाद खनालले सोनुको शव नेपाल फर्काउन करिब सात लाख रुपैयाँ लाग्नेछ । ‘अहिले अस्पतालमा उहाँको शव राख्न दिनको १२ हजार रुपैयाँ खर्च भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘आजसम्ममा सोनुको शव घर पठाउन पैसा उठाइरहनुभएको छ ।

अध्यक्ष खनालले कोरियाबाट विद्यार्थीको शव नेपाल फर्काउन सरकारले सहयोग नगरेको बताउनुभयो । ‘पहिला त वैध कामदारको मृत्यु हुँदासमेत शव नेपाल फर्काउने खर्च सरकारले बेहोर्दैनथ्यो, हामीले दबाब दिएपछि वैध कामदारको शव फर्काउन सरकारले खर्च बेहोर्छ तर विद्यार्थीको बेहोर्दैन,’ उहाँले भन्नुभयो, ‘सरकारले पहल गर्दा तीन–चार लाख रुपैयाँमा हुने काम हामीले गर्दा छ देखि १२ लाख खर्च हुने अवस्था छ।’ अस्पतालमा शव राख्न पनि खर्चिलो भएको र घर पठाउने रकम जोहो गर्न पनि समय लागिरहेको उहाँको भनाइ छ।

समितिका अनुसार दक्षिण कोरियामा करिब ७५ हजार वैध कामदार, सातदेखि १० हजार विद्यार्थी–प्राध्यापक नेपाली रहेको अनुमान छ। ‘यहाँ मृत्यु हुने नेपालीको संख्या पनि धेरै हुन्छ,’ खनालले भन्नुभयो, ‘अस्ति एक पटक त महिनामा पाँच वटा शव हामीले नेपाल पठायौँ।’ विद्यार्थीका लागि कोरियामा काम गर्ने समय नै नहुने, समय हुँदा पनि आफूलाई खर्च पुग्ने गरी काम गर्न नपाइने अवस्था रहेको खनालले बताउनुभयो । ‘कतिपय नेपाली सुतेकै ठाउँमा मृत फेला पर्ने गरेको र कतिपयले चाहिँ कमाइ नहुँदा आत्महत्या गर्ने गरेका छन्,’ अध्यक्ष खनालले बताउनुभयो, ‘कोरिया आउँदा आफूले गर्ने काम, कमाइ, खर्चलगायत सबै बुझेर मात्र आउनुहोला, कोरिया भन्ने बित्तिकै सबै मालामाल हुन्छ भन्ने सोच्नु भ्रम मात्र हुन्छ।’

सोनुका बुबा लीलाकुमार श्रेष्ठको पनि गत जेठमा मलेसियामा मृत्यु भएको थियो। वैदेशिक रोजगारीकै लागि त्यहाँ पुग्नुभएको लीलाको मृत्यु भएको अढाई महिनामा छोरीको पनि विदेशमै मृत्यु भएको हो। सोनुको परिवारमा आमा, भाइ र बहिनी रहेको आफन्तले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस