२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी ठगीमा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान आज

काठमाडौं । सहकारीको बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान लिने भएको छ । करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको कम्तीमा ९६ करोड रुपैयाँ गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको विवरण प्राप्त भएको छ भने त्योमध्ये ८० करोड रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्कमा सञ्चालक तथा प्रबन्ध निर्देशक रहनुभएको थियो ।

कानूनले कम्पनीको कारोबारमा प्रबन्ध निर्देशक जिम्मेवार हुने स्पष्ट व्यवस्था गरे पनि लामिछाने र उहाँका सहयोगीहरूले आफूहरूलाई केही पनि थाहा नभएको बताउँदै आउनुभएको छ । सांसद सूर्य थापाको नेतृत्वमा रहेको समितिले करिब ३ महिनादेखि सहकारी बचत हिनामिनामा छानबिन गरिरहेको छ । समितिले अहिलेसम्म सहकारी सञ्चालक, नियमन निकाय र संघसंस्थाका पदाधिकारीसहित ५० भन्दा बढी व्यक्तिसँग बयान लिइसकेको छ । समितिका सभापति थापाका अनुसार गोर्खा मिडिया नेटवर्ककै तत्कालीन सञ्चालक छविलाल जोशीलाई शुक्रबार बिहान ११ बजे र लामिछानेलाई २ बजे सोधपुछका लागि बोलाइएको छ ।

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका बेला गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा पनि ९५ करोड ८१ लाख रुपैयाँ ल्याई अपचलन गरिएको प्रहरी, सीआईबी र स्थानीय तहले गरेको अध्ययन तथा छानबिन प्रतिवेदनहरूमा उल्लेख छ । लामिछाने २०७८ वैशाख ५ देखि २०७९ असार १ सम्म गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । उक्त अवधिमा मात्रै ४ सहकारीबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगिएको विभिन्न प्रतिवेदनहरूबाट खुलेको छ । यी विवरण बाहिरिएपछि लामिछानेमाथि अनुसन्धान हुनुपर्ने भन्दै तत्कालीन प्रतिपक्ष कांग्रेसले संसद्मा आवाज उठाएपछि छानबिन विशेष समिति बनेको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस