२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सर्भर खुलेसँगै भेटियो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा ३ करोड !

GB-Rabi cooperative fraud case

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको तथ्य खुलेको छ । यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा ‘सर्भर’ बरामद गरेपछि थप चार वर्ष अर्थात् २०७२ सालदेखिको ठगीको विवरण प्राप्त भएको हो ।

सूर्यदर्शन सहकारीको वित्तीय विवरण लगायत अनुसन्धान क्रममा सहकारीमा जडित कम्प्युटर सफ्टवेयरमा २०७६ सालदेखिको विवरण भेटिएको थियो । जसअनुसार २०७६ सालदेखिको विवरण केलाउँदा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ रुपैयाँ ठगिएको विवरण भेटिएको थियो । तर, काठमाडौं शंखमुलबाट चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको ठगी विवरण पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले जानकारी दिनुभयो ।

सर्भर बरामद भएपछि थप १५ करोडको ठगी विवरण पत्ता लागेको खुलेको छ । अहिले ती सर्भर सहित अनुसन्धानका कागजात जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालय नक्सालमा पठाएको छ । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन भएपछि प्रहरी प्रधान कार्यालयले कास्की प्रहरीसँग कागजात मागेको थियो । ती कागजात सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले समेत अध्ययन गरिसकेको छ । जसअनुसार सर्भर बरामद भएपछि ठगीको बिगो बढेर १ अर्ब ५० करोड ९० लाख ३० हजार ५ सय ३ रुपैयाँ पुगेको भेटिएको छ ।

प्रहरीका अनुसार यी सबै सर्भर पहिले सम्बन्धित सहकारीकै कार्यालयमा थिए । तर, प्रहरीले सहकारी विरुद्ध अनुसन्धान अघि बढाएपछि बरामद हुने डरले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीको घरमा लगेर लुकाएको खुलेको थियो । सहकारीको सम्पूर्ण कारोबार भएको सर्भर नै फाल्दा वा डिस्पोज गर्दा कर्जा दिएको तथा उठाउन बाँकी रकमको कारोबार समेत नष्ट हुने र रकम उठाउन नसकिने भएपछि उक्त सर्भर डिस्पोज नगरी लुकाइएको खुलेको थियो।

कुनै समय सहकारी ठगीका मुख्य नाइके जीबीका साझेदार थिए पूर्वडीआईजी जोशी । उनीहरू दुवैको साझेदारीमा ग्यालेक्सी फोरके टेलिभिजन समेत सञ्चालनमा आएको थियो । उनै जोशीको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारीको सर्भर लुकाइएको थियो । संसदीय छानबिन समितिले जोशीसँग समेत सोधपुछ गर्ने तयारी गरेको छ ।

बरामद सर्भरबाट सूर्यदर्शन सहकारीमात्र नभई थप ६ सहकारीको ठगी धन्दा खुलेको छ । सूर्यदर्शन साथै बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं महाराजगञ्जको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पूर्ण कारोबार चार वटा सर्भरमा भेटिएको छ । ६ वटा सहकारीका डेटा फेला परेकाले कास्की प्रहरीले सम्बन्धित प्रहरी कार्यालयमा बुझाएको थियो । बुटलवको सुप्रिम सहकारी पीडितले प्रहरीमा जाहेरी दिए पनि ठगीको यकिन विवरण प्रहरीले पत्ता लगाउन सकिरहेको थिएन । तर, सर्भर बरामद भएपछि नै सुप्रिमले ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ ठगी गरेको भेटिएको थियो ।

सर्भरमै भेटिएको तथ्यांकका आधारमा रुपन्देही प्रहरीले १ हजार ८ सय ३१ बचतकर्ता ठगिएको भन्दै २८ जनालाई प्रतिवादी बनाउँदै ३ वैशाख २०८१ मा मुद्दा दायर गरेको थियो । सोही सर्भरमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ कर्जा गएको भेटिएको प्रहरी स्रोतले जानकारी दियो । ‘सर्भर बरामद नहुँदासम्म यो सहकारीमा लामिछानेको नाम जोडिएको देखिएन । जब सर्भर बरामद भयो त्यसपछि उहाँको नाममा समेत कर्जा गएको भेटिएको हो,’ उच्च प्रहरी स्रोतले पुष्टि गरेको छ ।

लामिछानेको नाममा २ करोडको कर्जा गएको देखिए पनि उहाँलाई प्रतिवादी बनाइएको थिएन । त्यतिबेला उहाँ उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्थ्यो । रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर रकम लगेको सर्भर मार्फत भेटिएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको उक्त सर्भरको तथ्यांकबाट खुलेको थियो ।

रवि यो सहकारीको सदस्य समेत हुनुहुन्न । ऋण भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गर्ने रोशनी गुरुङको नाम उल्लेख छ । त्यसैगरी सूर्यदर्शन सहकारीबाट रविको नाममा १ करोड कर्जा दिएको यसअघि नै खुलेको थियो । चार वटा सर्भरमा ६ वटा सहकारी कारोबार विवरण भेटिए पनि सूर्यदर्शन र सुप्रिम सहकारीको मात्रै मुद्दा दर्ता भएकाले अन्य सहकारीको विवरण भने प्रहरीले गोप्य राखेको छ । ‘मुद्दा दर्ता नभएका अन्य विवरणमा अहिले कुरा गर्नु राम्रो होइन । तर, सर्भरबाट ६ वटा सहकारीको करिब १० अर्बको कारोबार भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसबारे आईटी र सहकारी विज्ञको सहयोगमा थप अनुसन्धान पनि जारी छ ।’

 

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस